सेवानिवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्छ : हितराज पाण्डे 

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो बताएका हुन् । उनले ‘पेन्सनप्राप्त’ कर्मचारीले राजनीतिक वा अन्य कुनै नियुक्ति पाउँदा एउटा मात्र सुविधा लिन पाउने व्यवस्था गर्नुपर्ने बताए ।

उनले अवकाशप्राप्त कर्मचारीले राजनीतिक नियुक्ति लिएर पनि सुविधा लिने, निवृत्तिभरण पनि लिने, ७० वर्ष पुगेपछि सामाजिक सुरक्षाभत्ता समेत लिने गरेको उल्लेख गर्दै अब दोहोरो सुविधा लिन नपाउने व्यवस्था गर्नुपर्ने बताए । 

उनले भने, ‘यदि राजनीतिक अथवा अन्य कुनै पनि नियुक्तिमा गयो भने ‘पेन्सनप्राप्त’ कर्मचारीले दुई वटामध्ये कुन धेरै हुन्छ त्यो लिओस् । त्यो उसको आफ्नो विषयवस्तु भयो । दुई वटा, तीनवटा लिन पाउँदैन । उपसमितिमा पनि राजनीतिक नियुक्ति लिएर पनि सुविधा लिने, निवृत्तिभरण पनि लिने, कतिपय त गाउँमा गएर ७० वर्ष पुगेपछि सामाजिक सुरक्षाभत्ता पनि लिने यस्ता पनि कुराहरू आएका छन् । यो व्यवस्थित छैन । एउटा मात्र सुविधा लिने व्यवस्था गरिनु पर्दछ ।’

यसअघि नै मन्त्रिपरिषद्ले पनि सेवानिवृत्त कर्मचारीलाई दोहोरो सुविधा नदिने निर्णय गरेको भए पनि त्यो निर्णय पूर्णरूपमा कार्यान्वयन भएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?