प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : ‘काम गर्न गाह्रो भए पूरै एमालेकै टिम बनाउनुस्, हामी बाहिर बस्छौँ’

लोकपथ
3.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने दोहोर्‍याएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिँदै महामन्त्री शर्माले मौन धारण गरेर सरकार सफल नहुने बताए ।

उनले सरकार सफल हुने भनेकै कमी, कमजोरी केलाएर हुने भन्दै आफू संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको स्पष्ट पारे ।

कांग्रेसको साथ सहयोगमा वर्तमान सरकार नै कायमै रहने भएकोले सरकारको कार्यशैली बदलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनाले भने, ‘यो सरकार कायम रहन्छ । सरकार चल्नुपर्छ र सरकारले आफ्नो कार्यशैली बदल्नुपर्छ । सरकार सफल हुने भनेको मौन धारणा गरेर हो र ? सरकार सफल हुने त कमजोरी केलाएर हो नि ! आफू संलग्न भएको सरकारको सफलताको लागि सरकार यहाँ तिमी चुक्दैछौ, यहाँ तिमी चुक्दैछौँ । यहाँ तिमी ढिलाइ गर्दै छौँ भनेर बोल्ने कर्तव्य त पार्टीका पदाधिकारीहरूको बन्छ नि ।’

त्यस्तै उनले प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको भए जो प्रधानमन्त्री उसकै पार्टीको टिम हुनेगरी सहमत हुनुपर्ने प्रस्ताव राखे ।

उनले एमालेबाट प्रधानमन्त्री हुँदा एमालेको टिम र कांग्रेसबाट प्रधानमन्त्री हुने बेलामा कांग्रेस टिम हुनेगरी सहमत हुनेगरी विकल्प प्रस्तुत गरे ।

शर्माले भने, ‘जो प्रधानमन्त्री उसैको टिम । यसमा सहमत होऔँ । कांग्रेसका मन्त्रीहरूका कारण काम गर्न गाह्रो भयो भने प्रधानमन्त्रीलाई भन्नुपर्‍यो । एमालेको प्रधानमन्त्री हुँदा एमालेको टिम दिने टोटल । बरु, अरू साना दललाई गाँसौँला, कांग्रेस बाहिरिने । कांग्रेस बाहिरिँदा विपक्षीको बेन्चमा होइन, सत्ता पक्षको बेन्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्ने । भोली कांग्रेसको प्रधानमन्त्री बन्ने बेलामा कांग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमीकमजोरीप्रति प्रश्न गर्छ ।’

उनले सबैभन्दा उत्तम विकल्प सरकारको गति बढाउनु नै रहेको जिकिर गरे । कुनैपनि बहाना बनाएर सरकारको कार्यसम्पादनमा भएको ढिलाइको दोष लगाउन नहुने बताए ।

उनले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको जवाफ दिँदै सरकारको आलोचनालाई आक्रमण कम र सरकारको गति रूपान्तरणको लागि बोलिएको रूपमा हेर्न आग्रह गरे ।

शर्माले भने, ‘सबैभन्दा उत्तम विकल्प, सरकारको गति बढ्नुपर्छ । कुनैपनि यो वा त्यो, इन्तु–परन्तु, इफ–बट भनिराखेर सरकारलाई ढिलाइ भएको कुरामा कसैलाई दोष लगाएर हुँदैन । पूर्वप्रधानमन्त्री प्रचण्डलाई म भन्न चाहन्छु, सरकारमाथिको आक्रमण कम, सरकारको गति रूपान्तरणको लागि बोलिएको हो । यो सरकार रहन्छ, रहनुपर्छ ।’

उनले सभापति शेरबहादुर देउवा समेत कामको गति बढाउनुपर्ने पक्षमा रहेको स्पष्ट पारे । उनले शिक्षकका माग सम्बोधन गर्न, गभर्नर नियुक्ति, एआइजी नियुक्ति लगायतका कामहरूमा अब ढिलाइ गर्न नहुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?