दार्जिलिङ घुम्न गएकी युवतीहरू २ लाख भारुमा बेचिइन्

बेचबिखनमा संलग्न दलाल यसअघि नै कैद सुनाइएका प्रतिवादी

काठमाडौं । सपना तामाङ र सविना लामा (नाम परिवर्तन) रोजगारीको सिलसिलामा परिवारसँगै गाउँबाट काठमाडौं आएका थिए । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा निर्माणसम्बन्धी काम गर्ने दुवै जना विवाहित थिए र कामको प्रकृति अनुसार फरक फरक स्थानमा पुगिरहेका हुन्थे ।

कामकै सिलसिलामा उनीहरूको भेट भयो, नुवाकोट दुप्चेश्वरका ७ का ३२ वर्षीय मानबहादुर तामाङ र दुप्चेश्वर ६ का थोकर भन्ने २४ वर्षीय सोम बहादुर तामाङसँग । मान बहादुर र थोकर पनि कहिलेकाहीँ काममा सँगै भेटिन्थे । निर्माणको काम सँगै गर्ने क्रममा सपना र सविना तथा मान बहादुर तामाङ र थोकरबिच भेटघाट भइरहन्थ्यो ।

भेटघाट र चिनजान बिस्तारै बाक्लिँदै गएपछि उनीहरू नजिक भएका थिए । सपना र सविना विवाहित थिए र काठमाडौंमै परिवारसँग समेत बस्दै आएका थिए । मानबहादुर तामाङ र थोकर भन्ने सोम बहादुर तामाङ ठेक्कापट्टाको काम पनि गर्ने र काम गर्ने व्यक्तिहरू समेत ल्याउने व्यक्ति भएकाले ठेकेदारले कामको पैसा पनि पहिले मान बहादुर र थोकरलाई नै दिने गरेका थिए । त्यसपछि मात्रै उनीहरूले अन्य कामदारलाई रकम दिने गरेको पाइएको छ । ‘ठेकेदार’सँग नजिक भएपछि यी चार जना बेलाबेलामा घुम्न निस्कनेसमेत गरेका थिए ।

मानबहादुरले सपना र सविनालाई यस्तो दुखको काम मात्रै कति गर्नु, कहिलेकाहीँ घुम्न जानुपर्छ भन्दै माहौल बनाइरहेका थिए । लामो समयको मिहेनतपछि मानबहादुर तामाङ यी दुई युवतीलाई घुम्नका लागि जान मनाउन सफल भए । मानबहादुर र थोकरले यी दुई युवतीलाई भारतको दार्जिलिङ घुम्न जाने प्रस्ताव ल्याए भने घुम्न खर्च मानबहादुर र सोम बहादुरकै हुने तथा फर्कँदा मोबाइल समेत किनिदिने र काम गरेको दिनुपर्ने रकमसमेत दिने भनी प्रलोभन दिए ।

घुम्न पनि पाइने र मोबाइल पनि पाइने तथा पहिले काम गरेको रकम पनि पाइने भएपछि सपना र सविना उनीहरूसँग घुम्न जान तयार भए ।

मानबहादुर र सोम बहादुरको योजना अनुसार युवतीहरू तयार भएपछि २०८१ मङ्सिर १८ गते सपना र सविना ललितपुरको चापागाउँ १२, ठेचोबाट कोटेश्वर आए । घरमा भने उनीहरूले केटी साथीहरूसँग घुम्नका लागि इलाम जान लागेको बताए ।
यता कोटेश्वरमा कुरेर बसेका मानबहादुर, सोम बहादुर र अर्का एक युवाले यी दुई युवतीलाई कोटेश्वरबाट हाइसमा राखेर सिन्धुलीको बाटो हुँदै झापा पुराए ।

झापामा पुगेपछि यी दुई युवतीलाई यी दुई जनाकै फोटो टाँसिएको नक्कली नागरिकतासमेत थमाइयो । अर्कैको नाममा बनेको उक्त नागरिकता देखाएर मात्रै भारत जान पाइन्छ भन्दै उनीहरूलाई ती नागरिकता दिइएको थियो ।
झापा पुगेपछि पहिले यी चारै जना इलाम घुम्न गएर एक रात उतै बसे । त्यसपछि झापाको काकरभित्ता हुँदै भारतको पानी ट्याङ्की पुगे । त्यहाँबाट दार्जिलिङ जाने भनेर ट्रेन चढाइयो ।

दार्जिलिङ होइन, कोलकाता पुराइयो

पानीट्यांकीबाट दार्जिलिङ जान भनी हिँडेका उनीहरू दार्जिलिङ पुगेनन्, बरु उनीहरूलाई कोलकाता पुराइयो । कोलकाता पुगेपछि भने अवस्था फेरियो । उनीहरूसँग मोबाइल भए पनि त्यहाँको सिम कार्ड थिएन भने इन्टरनेटको पहुँचसमेत थिएन । उनीहरूले परिवारका सदस्यलाई सम्पर्क गर्न खोजेपछि यी दुई दलालले सम्पर्क गर्न नै दिएनन् । बरु कोलाकाताबाट दार्जिलिङ जाने भन्दै उनीहरूलाई केही दिन दिल्लीमा राखियो ।

फाइल तस्बिर

दिल्लीबाट दार्जिलिङ लैजाने भने पनि त्यहीँ राखिएपछि उनीहरूले परिवारलाई खबर गर्न खोजे । तर बेचबिखनमा संलग्न व्यक्तिहरूले उनीहरूको मोबाइल समेत फुटाइदिएर सम्पर्कविहीन बनाए । त्यसपछि दार्जिलिङ जाने भन्दै फेरि ट्रेन चढाएर महाराष्ट्रको पुणे पुराए ।

पुणे पुराएको केही दिनमै यी दुवै युवतीलाई फरक फरक स्थानमा विक्री गरियो । बिक्री गरिएकी युवतीमध्ये एक युवती पुगिन्, पुणेको रेड लाइट एरियामा रहेको ‘न्यु बिल्डिङ (फुड प्लाजा) र दार्जिलिङ घुम्न भन्दै लगिएका व्यक्तिहरूले आफूलाई विक्री गरी जबरजस्ती वेश्यालयको काममा लगाउन खोजिएको थाहा पाएपछि एक युवतीले विद्रोह गरिन् ।

आफू कुनै पनि हालतमा गलत काम नगर्ने र घर फर्कने भन्दै रोइकराई गरेपछि कोठी सञ्चालिकाले आफूले २ लाख भारु तिरेर ल्याएको भन्दै पहिले उक्त रकम तिर्न भनेको पीडित युवतीले ब्युरोमा दिएको जाहेरीमा उल्लेख छ । तर आफूसँग रकम नभएको र काम नगर्ने भन्दै विद्रोह गरेकी सपनाले कोठीमै काम गर्ने अर्की महिलाको मोबाइलबाट आफ्ना श्रीमानलाई फोन गरिन् । ‘मलाई यहाँबाट निकाल्नुस्,’ भन्दै रुँदै सपनाले फोन गरेपछि सपनाका पतिले मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिए । त्यसपछि भारतीय प्रहरीसँगको समन्वयमा सपनालाई महाराष्ट्रको पुणेबाट उद्धार गरियो ।

सपनाको उद्धारपछि सविनाको खोजी

सपनाको उद्धारपछि दलालहरूले सविनालाई पनि विक्री गरेको खुल्यो । दुवै जना साथीहरू सम्पर्कविहीन भएपछि सविनाको समेत खोजी भयो र त्यही क्रममा एक व्यक्ति पक्राउ परे । पक्राउ परेका दलालले सविनालाई पनि बिक्री गरेको जानकारी गराए भने विक्री भएको स्थान पनि भने । तर जब प्रहरी त्यहाँ पुग्यो, सविनालाई त्यहाँबाट पनि अन्यत्र लगी सकिएको थियो । त्यसपछि भारतीय प्रहरीले नै सविनाको समेत खोजी गरी २०८१ माघ १५ गते उनीहरूलाई सुनौली नाकामा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाइदियो । दलालहरूले सविनालाई भने भारु १ लाख ५० हजारमा विक्री गरेका थिए ।

मानबहादुर मानव बेचबिखनमा यसअघि नै दोषी ठहर

मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुसन्धानमा मान बहादुर तामाङ यसअघि पनि मानव बेचबिखनमा संलग्न रही अदालतबाट कैद ठेकिएका व्यक्ति भएको खुलेको छ । मानव बेचबिखनकै कसुरमा मान बहादुर यसअघि काठमाडौं जिल्ला अदालतबाट १० वर्षको कैद सुनाइएका व्यक्ति हुन् । तर उच्च अदालतले जिल्ला अदालतको फैसला केही उल्टी गर्दै मान बहादुरलाई ५ वर्षको मात्रै कैद सजाय हुने फैसला सुनाएपछि उनी ५ वर्ष कैद बसेर निस्किएका थिए । तर कैदबाट निस्केपछि मान बहादुरले पुनः मानव बेचबिखनको धन्दा सुरु गरेका थिए ।

मानव बेचबिखनको यस घटनामा जोडिएका अर्का व्यक्ति हुन्, सन्च बहादुर तामाङ । घटनामा सन्च बहादुर र एक महिलाको समेत संलग्नता रहेको पाइएको ब्युरोले जनाएको छ । घटनामा संलग्न सन्च बहादुर तामाङ भने डकैतीको मुद्दामा हाल कारागार कार्यालय नख्खुमा जेल सजाय भोगिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?