काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक समेत रहेका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले राष्ट्रिय सभालाई वृद्धाश्रम रहेको भन्दै पुनः आलोचना गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा ‘ आम सञ्चार परिषद् विधेयक–२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि आफ्नो धारणा राख्दै सांसद शाहीले राष्ट्रिय सभाको आलोचना गरेका हुन् ।
यसअघि नै उनले सामाजिक सञ्जालमा उक्त विधेयक गत माघ २८ गते राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रिय सभालाई वृद्धाश्रम भन्दै आलोचना गरेका थिए । त्यसो त राष्ट्रिय सभाले शाहीको उक्त भनाइप्रति कटाक्ष गर्दै खेद प्रस्ताव पारित गरेको थियो ।
आजको बैठकमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आम सञ्चार परिषद् विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत थिए ।
त्यसमाथि बोल्न रोस्ट्रममा पुगेका शाहीले उक्त विधेयक राष्ट्रिय सभाबाट पारित भएको तर त्यसमा केही गम्भीर कुराहरु रहेको बताए । केही गम्भीर कुराहरु रहँदा रहँदै पनि राष्ट्रिय सभा सदस्यहरुले पढ्दै नपढी विधेयक पारित गरेकाले आफूले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेर आलोचना गरेको दोहोर्याए ।
‘यो जुन विधेयक हामीले छलफल गरिरहेका छौँ, यो चाँही करिबकरिब राष्ट्रिय सभाबाट पारित भइसकेको अवस्था छ । विधेयकको दफा २५ को उपदफा २ को खण्ड ग मा कोष स्थापना गर्ने भनेको छ । त्यहाँ कुनै विदेशी सरकार, निकाय बाट वैदेशिक सहायतास्वरुप प्राप्त आर्थिक अनुदानको रकम लिने भन्या छ,’ मन्त्रीलाई पढ्न सुझाव दिँदै उनले भने ।
‘नेपालमा वैदेशिक लगानी खुला नगरिएका उद्योग तथा व्यवसायहरु कुन कुन हुन् ? विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा ३ को उपदफा २ को खण्ड ७ मा आम सञ्चारका माध्ययमहरु पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचारको व्यवसाय, राष्ट्र भाषाका चलचित्रमा वैदेशिक लगानी ल्याउन पाइँदैन भनेपछि अब भन्नुस् यो विधेयक कसरी ल्याउनुभयो,’ उनले मन्त्रीलाई प्रश्न गर्दै भने,‘यति विषय पनि अध्ययन गर्न आउँदैन भनेपछि हामीले वृद्धाश्रम नभनेर राष्ट्रिय सभालाई के भन्ने ? राष्ट्रिय सभा हुनुपर्ने के हो ?’
शाहीको उक्त भनाइप्रति माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाए । उनले एउटा सदनको रोष्ट्रमबाट अर्को सदनलाई होच्याउने काम भएको भन्दै वृद्धाश्रम शब्दलाई संसद्को रेकर्डबाट हटाउन माग गरे ।
यता शाहीले भने आफू प्रतिनिधि सभाको निर्वाचित सदस्य रहेको भन्दै आफूमाथि राष्ट्रिय सभामा खेद प्रस्ताव पारित गर्दा ध्यानाकर्षण नभएको भन्दै कटाक्ष गरे । उनले पाण्डेलाई ‘कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि’ भन्दै टिप्पणी गरे ।
यता नेकपा एमालेका सांसद रघुजी पन्तले रोस्टममा बोल्ने वक्ता र तलबाट बोल्ने वक्ताबीच कुनै वादविवाद नहुने भन्दै आपत्ति जनाए ।
यता सभामुख घिमिरेले भने व्यक्ति विशेषमा नगइ आफ्नो विषयमा प्रवेश गरेर मात्रै कुरा राख्न आग्रह गरे ।
सांसद शाहीले राष्ट्रिय सभा विज्ञ थलो हुनुपर्नेमा राजनीतिक कार्यकर्ताहरुको भर्तिकेन्द्र रहेको आक्षेप लगाए । राष्ट्रिय सभामा कानुनको विज्ञ भएको भए कानुनका विषयमा यथेष्ट धारणा राख्न नसकेको कटाक्ष गरे । निरन्तर राष्ट्रिय सभामाथि प्रश्न गरेपछि पुनः एमाले सांसद पन्तले कटाक्ष गरे तर सभामुखले वक्तालाई आफ्नो कुरा राख्न दिन आग्रह गरे । आफूलाई बिचबिचमा पुनः बोल्न रोकेपछि जंगिँदै रोष्ट्रमबाट शाहीले भने, ‘म आज पनि भन्छु राष्ट्रिय सभा विज्ञहरुको सभा हो, कार्यकर्ताहरुको भर्तिकेन्द्र होइन ।’
सभामुखले पुनः शाहीलाई विषयमा केन्द्रित रहेर बोल्न आग्रह गरे । शाहीले भने मिडिया काउन्सिल विधेयककै विषय उठेको भन्दै आफूले बाहिरको विषयमा कुरा नगरेको समेत स्पष्ट पारे ।
त्यस्तै आफलाई जनताले जिताएर पठाएको भन्दै आफूले बोल्न पाउनुपर्ने भन्दै कटाक्ष गरे । साथै आफ्नो बोल्ने अधिकार रहेको भन्दै बोल्ने अधिकारबाट बञ्चित गराउन लागेको भन्दै कटाक्ष गरे ।
यता सांसद शाहीको आक्रोशपछि एमालेका सांसद पन्तले आपत्ति जनाए । उनलाई सभामुखले बोल्न समय नदिए पनि आफ्नो धारणा राखे ।
यो पनि…
विज्ञ थलो बन्नबाट चुकेको राष्ट्रिय सभा : बहसमा ‘वृद्धाश्रम’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया