काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि ३ वर्ष प्रधानमन्त्री बन्दा असाधारण परिवर्तन गरेको तर त्यसपछि बनेका सरकारहरूले काम अघि नबढाउँदा विकास अघि बढ्न नसकेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरू अघि बढाउनु रहेको बताए ।
देशमा सुशासन र विकासको गति तीव्र बनाउन सरकारले काम गरिरहेको उनको भनाइ छ । उनले केही भएको छैन भन्ने कुरा गलत भएको भन्दै अझै धेरै कुरा गर्न बाँकी रहेको कुरा स्वीकार गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘केही भएको छ, अझै धेरै गर्न बाँकी छ । केही भएको छ । म दावाका साथ भन्छु तीन वर्ष म प्रधानमन्त्री हुँदा अहिलेसम्म असाधारण परिवर्तन भयो । त्यो प्रगतिलाई बीचको तीन वर्षले धान्न सकेन । फेरि हामी त्यही नधानिएको हुनाले अहिले नेपाली कांग्रेस र नेकपा एमाले दुई वटा सबैभन्दा ठुला पार्टीहरू मिलेर, देश धेरै अफ्ठ्यारोमा पर्यो यो बीचमा । देशलाई अधोगतितिर होइन, यसलाई सुशासन र विकासको बाटोमा अगाडि लैजानुपर्छ भनेर सरकार बनाएका छौँ । यो विकास र सुशासन भनेको के हो भन्दा शिक्षा, स्वास्थ्यमा विकास, पूर्वाधारमा विकास, बिजुलीमा विकास, सञ्चारमा विकास यी सबै कुरामा विकास हुनुपर्छ । विज्ञान प्रविधिले गरेका उपलब्धिहरू सबै नेपाली जनताले पाउने ल्याकतमा हुनुपर्छ । २० प्रतिशत जनता अहिले पनि गरिबीको रेखामुनि छन् ।’ प्रधानमन्त्री ओलीले नेपाली बालबालिकाहरू मुस्कुराएको आफूहरूले हेर्न चाहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया