ओलीको गृहजिल्ला झापाबाट प्रचण्डले सुरु गरे ‘तराई–मधेश जागरण अभियान’

लोकपथ
343
Shares

झापा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी तराई–मधेश जागरण अभियानको उद्घाटन गरेका छन् ।

जिल्लाको कचनकवल गाउँपालिकाको बनियानीस्थित हुकाहुकी चोकबाट अध्यक्ष दाहालले अभियानको आज उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यो अभियान ऐतिहासिक भएको बताए । उनले अभियानले पूर्वदेखि पश्चिमसम्मका सबै जातजाति, धर्म र सम्प्रदायलाई एकीकृत गर्ने अपेक्षा रहेको बताए ।

पार्टीका अर्का उपमहासचिव जनार्दन शर्माले जनताको कुरा सुन्ने, दुःख, सुख बाँड्ने र उत्पीडनमा परेकाको अन्त्य गर्ने उद्देश्यले अभियान थालिएको बताए । उनले विगतमा पार्टीले गरेको कमीकमजोरीलाई पाँच महिनासम्म स्थानीय तहदेखि केन्द्रसम्म छलफल गरेर सङ्कल्पसहित जनतामा जाने निर्णय गरेर अभियान सञ्चालन गरिएको बताए ।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सरकार गठनपछि सत्ताबाट बाहिरिएपछि प्रचण्ड विभिन्न कार्यक्रम लिएर देशभर घुमिरहेका छन् । सरकारबाट बाहिरिएपछि सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरिरहेका प्रचण्डले ओलीको गृहजिल्लाबाटै उक्त अभियान सुरु गरेका हुन् । प्रधानमन्त्री ओलीकै गृहजिल्लाबाट प्रचण्डले उक्त कार्यक्रम किन सुरु गरे भन्दै चासोका साथ समेत हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?