एकीकृत समाजवादीको निष्कर्ष– ‘हामीले कहिल्यै पनि एमसीसीलाई ठिक मानेनौँ’

लोकपथ
14
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अमेरिकाले अनुदानस्वरुप दिएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आफूहरुका लागि कहिल्यै स्वीकार्य विषय नभएको निष्कर्ष निकालेको छ ।

शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयहरु सार्वजनिक गर्दै पार्टीका महासचिव घनश्याम भुसालले सो कुरा बताएका हुन् । उनले आफूहरुले संस्थागत रुपमा नै एमसीसीमा समस्या रहेको कुरा त्यसबैला औँल्याएको बताए ।

यो कुरा दुनियाँलाई जानकारी होस् कि नेकपा एकीकृत समाजवादीका लागि एमसीसी ठिक कहिल्यै रहेन । हामीले त्यसबेला पनि एमसीसी कसरी ठिक हुन्छ भन्ने प्रस्ताव मात्रै उठाएका थियौँ, यद्यपि त्यसमा केही कमजोरी रहेका हुन सक्छन् । व्याख्यात्मक टिप्पणीमा पनि केही कमजोरी रहेका हुन सक्छन् त्यसमा हामी स्वीकार गर्छौँ । त्यसको अर्थ हो एमसीसीमा समस्या छन् ।

एमसीसी संविधानसँग बाझिने कुरादेखि लेखा परीक्षण लगायतका विषयमा आफूहरुको रिजर्भेसन रहेको समेत स्मरण गराए । साथै संसद्बाट एमसीसी अनुमोदन भएपछि पनि आफूहरुले त्यसको संसदीय समितिमार्फत् अुनगमन गर्न माग निरन्तर गरेको बताए ।

हालै अमेरिकारले ९० दिनका लागि भन्दै एमसीसी परियोजना रोकेको छ । राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प आइसकेपछि एमसीसी रोक्न आदेश दिएसँगै सबै काम रोकिएका छन् । मुख्य गरी सडक र ट्रान्समिसन लाइन निर्माणका लागि नेपाली ६० अर्ब हाराहारीमा अनुदान सहयोग अमेरिकाले नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता गराएको थियो । एमसीसी नेपालको संसद्ले नै अनुमोदन गरेसँगै काम समेत अघि बढेको थियो । अर्बौँ रुपैयाँ त्यसमा खर्च भइसकेको अवस्थामा एमसीसी परियोजना बन्द भएसँगै थप जटिलता उत्पन्न भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?