पूर्व राजाको अपिल– ‘अब समय आयो, राष्ट्र जोगाउन हामीलाई साथ दिनुस्’

लोकपथ
2.5k
Shares

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता कायम राख्दै समृद्धि र उन्नतीका लागि आफूहरुलाई साथ दिन आग्रह गरेका छन् ।

नेपालमा प्रजातन्त्र स्थापनाको ७५ वर्ष पुगेको अवसरमा शुभकामना सन्देश जारी गर्दै ज्ञानेन्द्रले राष्ट्रको रक्षाका लागि सबैको अनुशासन र इमान्दार प्रयत्न हुनुपर्नेमा समेत जोड दिएका छन् ।

‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनुपर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतीको लागि हामीबाट अरु केके त्याग गर्नुपर्ने हो, हामी तयार छौँ । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौँ,’ ज्ञानेन्द्रको शुभकामना सन्देशमा भनिएको छ ।

त्यस्तै उनले जनता र राजा मिलेर २००७ सालमा प्रजातन्त्र ल्याएको तर अहिले व्यवस्था फेरिए पनि नागरिकको अवस्था फेरिन नसकेकोप्रति आक्रोश व्यक्त गरेका छन् । साथै मुलुकको अस्तृत्व मेटिँदै गएको र होनाहार जनशक्ति दिनहुँ बाहिरिँदै गएको र आम नेपालीले जन्मदै लाखको ऋणभारको बोझ रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

‘आज देशको इतिहास मेटिँदै गएको छ । नेपालको अस्तित्व नासिँदै गएको छ । नेपालका होनाहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिँदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन अन्तै पोखिएको छ । जन्मदै नेपालीको शिरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापारव्यवसाय धरासायी बन्दै छ । हुँदाहुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिँदै गएका छन् । नेपालको पद्धति, नीति र गतिविधि ठिक छैन, यहाँ बसेर केही हुँदैन । श्रम, शीप, चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यस प्रकारका भाष्य चलि रहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन,’ उनले भनेका छन् ।

पुर्खाहरुले जोगाएको राष्ट्रमा संकट नआवोस् भनेर आफूहरुले त्याग गरेको समेत टिप्पणी गरेका छन् । आफूहरुले लामो शासन गरे पनि जनताको चाहना बमोजिम सबै सुख सुविधालाई त्याग गरे पनि त्यस अनुसार काम हुन नसकेको बताए ।

‘हाम्रो यो देश, भक्त पुर्खाहरुले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआवोस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा उदारता राख्दै आयौँ । त्यति मात्र होइन हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुख सुविधालाई त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन, र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै कुनै पनि पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आसय पनि त्यही नै हो । हाम्रो इतिहास नास गरेर र पहिचानको अपमान गरेर हामी उभो लाग्दैनौँ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौँ । विगतका कमीकमजोरी तथा आफ्नो प्रकृति र संस्कृति विरुद्धका त्रुटी सच्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस्,’ सन्देशमा भनिएको छ ।

साथै प्रजातन्त्र सबैको प्रीय व्यवस्था हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । त्यसो त यसअघिका प्रजातन्त्र दिवसहरुमा सामान्य रुपमा प्रस्तुत हुने ज्ञानेन्द्रले थप आक्रोशित रुपमा पैदा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?