लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लोकपथ
28
Shares
फाइल तस्बिर

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज मंगलबार विश्वासको मत लिँदै छन् । गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले आज दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची रहेको छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्थाअनुसार आचार्यले विश्वासको मत लिन लागेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा आवश्यक बहुमतका लागि ४४ सांसद संख्या चाहिन्छ । सत्तारुढ दुई दल एमाले र कांग्रेसकै स्पष्ट बहुमत रहेकाले उनले विश्वासको मत पाउनेमा कुनै शंका छैन । अन्य साना दल पनि सत्ता पक्षमा रहेकाले उनले आवश्यकभन्दा बढी मत पाउने छन् । उनी कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री आचार्यलाई प्रदेश सभामा सहभागी ११ वटा राजनीतिक दलमध्ये सरकारमा जान चाहेका जसपाका २, जसपा नेपालका एकजना र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् ।

लुम्बिनी प्रदेशसभामा माओवादीका १०, राप्रपाका ४, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक÷एक जना गरी १७ सांसद प्रतिपक्षमा रहेका छन् । मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको उपनेता रहेका आचार्य तीन दिनअघि मात्रै दलको नेता चयन भएका छन् । दल नेता चयन भएपछि उनले विश्वासको मत लिन लागेका हुन् । आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेले ह्वीप जारी गरिसकेका छन् । मुख्यमन्त्री आचार्यले यसअघि आन्तरिक मामिला तथा कानुन, खानेपानी तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी बहन गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?