काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले प्रधानमन्त्री कार्यालय परिसरमा पत्रकारहरुलाई हटाउन निर्देशन दिएको भन्दै आलोचनापछि सो विषयमा स्पष्टीकरण आएको छ ।
सोमबार मन्त्रिपरिषद् बैठकमा उपस्थित हुने क्रममा प्रधानमन्त्री बालेनले सञ्चारकर्मीहरुलाई हटाउन सुरक्षाकर्मीहरुलाई हटाउन निर्देशन दिएको भन्दै आलोचना भएको थियो ।
प्रेस माथि सरकारले अंकुश लगाएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीको सचिवालयले त्यसबारे स्पष्ट पारेको हो ।
प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेनले त्यस क्रममा प्रधानमन्त्री कार्यालयभित्र सवारी आवागमनमा अवरोध भएको र त्यसलाई व्यवस्थित गर्न सुरक्षा निकायलाई निर्देशन दिएको स्पष्ट पारेकी छन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू कार्यालय प्रवेश गर्ने क्रममा कार्यालय परिसरमा सवारी साधनहरूको अत्यधिक भीडभाड देखिएपछि उहाँले सोको व्यवस्थापन र सुरक्षा सतर्कताबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा मात्र राख्नुभएको थियो। उहाँको यो चासो परिसरभित्रको सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग मात्र सम्बन्धित थियो। प्रधानमन्त्रीज्यूले सञ्चारकर्मीहरूलाई कार्यक्षेत्रबाट हटाउन वा आफ्नो भिडियो खिच्न रोक्न कुनै पनि किसिमको निर्देशन दिनुभएको होइन,’ उनले भनेकी छन् ।
त्यस्तै सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको समेत स्पष्ट पारिएको छ ।
प्रधानमन्त्रीको सचिवालयको स्पष्टीकरण
प्रेस नोट: प्रधानमन्त्री कार्यालय परिसरको घटना र वास्तविक वस्तुस्थिति
मिति: २०८३ वैशाख २१
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले २०८३ वैशाख २१ गते आफ्नो कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गर्नुभएको भनी केही सञ्चारमाध्यममा सम्प्रेषण भएका समाचारप्रति प्रधानमन्त्रीको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ।
यस सम्बन्धमा वास्तविक वस्तुस्थिति निम्नानुसार स्पष्ट पारिन्छ:
१. सम्माननीय प्रधानमन्त्रीज्यू कार्यालय प्रवेश गर्ने क्रममा कार्यालय परिसरमा सवारी साधनहरूको अत्यधिक भीडभाड देखिएपछि उहाँले सोको व्यवस्थापन र सुरक्षा सतर्कताबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा मात्र राख्नुभएको थियो। उहाँको यो चासो परिसरभित्रको सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग मात्र सम्बन्धित थियो। प्रधानमन्त्रीज्यूले सञ्चारकर्मीहरूलाई कार्यक्षेत्रबाट हटाउन वा आफ्नो भिडियो खिच्न रोक्न कुनै पनि किसिमको निर्देशन दिनुभएको होइन।
२. प्रधानमन्त्रीज्यू कार्यकक्षमा प्रवेश गरिसकेपछि उहाँको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीहरूलाई त्यहाँबाट हट्न भनेको भन्ने गुनासो सचिवालयमा प्राप्त भएको थियो। उक्त जानकारी प्राप्त हुनासाथ सचिवालयले सम्बन्धित निकायसँग समन्वय गरी फिल्डमा रहेका सञ्चारकर्मी साथीहरूलाई प्रधानमन्त्री कार्यालय परिसरमा उपलब्ध गराइएको पहुँचमा कुनै पनि प्रकारको कटौती वा निषेध नगरिएको जानकारी गराइसकेको थियो।
३. प्रधानमन्त्रीको सचिवालय पुनः स्पष्ट पार्न चाहन्छ कि– जहाँ सञ्चारकर्मीहरूलाई सूचना संकलन र रिपोर्टिङका लागि अनुमति छ, त्यहाँ कुनै पनि किसिमको अवरोध भएको छैन र भविष्यमा पनि हुने छैन। तसर्थ, सुरक्षा र व्यवस्थापनसँग जोडिएको सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको ‘अंकुश’ वा ‘अवरोध’ का रूपमा अतिरञ्जित नगर्न हामी हार्दिक अनुरोध गर्दछौँ।
नेपाल सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संविधानप्रति पूर्ण प्रतिबद्ध छ। सञ्चार जगतसँग सहकार्य, पारदर्शिता र सुमधुर सम्बन्ध कायम राख्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ बनाउन सरकार सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछौँ।
दिपा दाहाल
प्रेस तथा अनुसन्धान विज्ञ
प्रधानमन्त्रीको सचिवालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया