ट्राफिक नियम मिच्नुभयो ? बग्गीखानाबाट फोन आउँछ

काठमाडौं । ट्राफिक प्रहरीले ट्रानियम मिच्नेमाथि निगरानी बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्नेहरुमाथि सीसीटीभीबाट निगरानी गर्न शुरु गरेको हो ।

ट्राफिक प्रहरी महाशाखाले सीसीटीभीबाट निगरानी गर्ने र बग्गीखाना बोलाएर कारबाही गर्न थालेको हो ।

ट्राफिक प्रहरी नभएको स्थानमा नियम मिच्ने प्रवृत्ति बढेपछि सीसीटीभीबाट निगरानी शुरु गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षा (एसएसपी) बसन्त पन्तले जानकारी दिए । 

‘महाशाखाले सीसीटिभी शाखा बनाएको छ । जसले सडकहरुमा गुडिरहेका सवारीले नियम पालना गरे नगरेको हेर्छ ।’ एसएसपी पन्त भने, ‘नियम मिचेको देख्नासाथै सम्बन्धित क्षत्रेका ट्राफिक प्रहरीलाई यसबारे जानकारी दिन्छ ।’

‘ट्राफिकले नियन्त्रणमा लिन नसकेका तथा नभ्याएका सवारीको नम्बर नोट गरिन्छ । सवारीको विस्तृत जानकारी यातायात कार्यालयसँग मागिन्छ । यातायातबाट प्राप्त विवरणका आधारमा महाशाखाले सवारी धनीलाई फोन गरेर महाशाखा बोलाइन्छ ।’ उनले भने, ‘बोलाउँदा पनि नआए हामी फेरि फलो गर्छौं । तीन पटकसम्म अनुरोध गर्दा वेवास्ता गरेर सवारी साधन नै नियन्त्रणमा लिएर जरिवाना गर्छौं ।’

यसैगरी वैशाख महिनामा मात्रै ट्राफिक प्रहरीले १ सय ६५ जना चालकलाई नियन्त्रणमा लिनुका साथै जरिवाना समेत गराएको छ । 

सीसीटीभी निगरानीका आधारमा सडकमै कारबाहीमा पर्ने सवारी चालकको सख्या ९ सय ९४ रहेको ट्राफिक  महाशाखाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?