एसईई प्रश्नपत्र आउट गर्ने दुई प्रहरी जवान कारागार चलान

काठमाडौं ।माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र आउट गर्ने दुई जना प्रहरी जवानलाई पुर्पक्षक लागि कारागार चलान गरिएको छ । 

गत चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र आउट गर्ने प्रहरी जवानद्वय व्रह्मदेव यादव र दीपेन्द्र मण्डललाई पुर्पक्षका लागि कारागार पठाउन सिरहा जिल्ला अदालतले आदेश दिएको हो ।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुवैलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएका हुन् ।

अन्य ६ जनालाई भने धराटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

इलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत रहेका बेला दुवै जनाले प्रश्न पत्र आउट गराएका थिए ।

दुई जनालाई १ लाख ५० हजार र चार जनालाई १ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न पनि जिल्ला अदालत, सिरहाले आदेश दिएको छ ।

उक्त कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका १० निवासी विष्णुदेव यादव र अरोजकुमार यादवलाई जनही एक लाख ५० हजार रुपैयाँ तथा राजविराज १६ निवासी शिक्षक मनोज यादव, सप्तरीकै हनुमाननगर कंकालनी नगरपालिका १ निवासी १७ वर्षीय राजेश यादव, १७ वर्षीय उमेश यादव र ताराकान्त इसरलाई जनही एक लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

यी दुवैले इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको स्थानबाट प्रश्न पत्र निकालेर फोटो खिची ब्रहमदेवले इमोमार्फत आफ्नो दाइ विष्णुदेव यादवलाई पठाएको अनुसन्धानबाट खुलेको थियो । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २१ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?