वीरगञ्ज । बारा र पर्सामा हावाहुरीबाट क्षति भएको घर निर्माण वैशाख २१ गतेबाट शुरु हुने भएको छ ।
गत चैत १७ गते बारा र पर्सामा हावाहुरीसँगै आएको असिना पानीले १८ सय ९५ घरधुरीमा क्षति पुगेको थियो भने ९ सय ४० घरधुरी पूर्णरुपमा ध्यस्त भएको थियो ।
हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न सोमवार बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा पुगेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन् । साथै उनले सरकारले गरेको निर्णयलाई आधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट पारेका हुन् ।
वैशाख २१ गते बारा र पर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटि घर बनाउने काम शुरु गरिने जानकारी दिँदै उपप्रधानमन्त्री पोखरेलले भने सरकारले उक्त काममा ७ सय ५० जना इन्जिनियर खटिने पनि बताए ।
सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालयसमेत हुने गरी दुईकोठे घर बनाइने जानकारी दिए ।
सङ्घीय सरकारले बारा पर्साका हावाहुरी प्रभावित एक हजार ४ सय ५३ घर बनाउन नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ प्रदान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया