हावाहुरीपीडितका घर बनाउन सेनाद्वारा दुईवटा प्रस्ताव तयार

काठमााडौँ– बारा र पर्सा जिल्लामा चैत १७ गतेको विनाशकारी हावाहुरी र असिना पानीबाट घरबारविहीन भएका परिबारको घर बनाउने प्रक्रिया अगाडि बढाइएको छ ।
घरबारविहीन भएकाहरूको घर निर्माणको जिम्मा पाएको नेपाली सेनाले निर्माण प्रक्रिया अगाडि बढाएको हो । त्यसका लागि सेनाले कुन ढाँचा र कति लागतमा घर बनाउने भन्नेबारे दुईवटा प्रस्ताव रक्षा मन्त्रालयमार्फत सरकार समक्ष पेस गरेको छ ।
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले बारा र पर्साका हावाहुरीपीडितको घर बनाउने जिम्मेवारी पाएसँगै सेना त्यसको तयारीमा जुटेको जानकारी दिनुभयो ।
एउटा घरपरिवारका लागि आवश्यक पर्ने न्यूनतम मापदण्ड समेटेर सरकार समक्ष दुईवटा प्रस्ताव पेस गरिएको छ ।
पहिलो प्रस्तावमा करिब छ लाख रुपियाँको लागतमा तयार हुनेगरी दुई वटा कोठा, एउटा भान्साघर र एउटा शौचालयसहितको घर निर्माण गर्ने र दोस्रोमा दुई वटा कोठा, एउटा शौचालय र बरण्डामा भान्सा घर निर्माण हुने गरी प्रस्ताव गरिएको छ ।
प्रस्ताव दुई अनुसारको घर निर्माणका लागि प्रति घर पाँच लाख रुपियाँ अनुमान गरिएको प्रबक्ता पाण्डेले बताउनुभयो ।
बारा जिल्लामा एकहजार ३६२ र पर्सा जिल्लामा ९१ वटा घर निर्माण गर्नुपर्ने देखिएको बताउँदै उहाँले घर निर्माणका लागि नेपाली सेनाको १० वटा टोली परिचालन गर्ने तयारी भइसकेको जानकारी समेत दिनुभयो । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?