गौशाला । महोत्तरी, धनुषा र सर्लाहीको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारलाई प्रदेश नं २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक थान जेनेरेटर प्रदान गरेको छ ।
तीन जिल्लाका नियमित कैदीबन्दीका साथै देशभरिबाट समय समयमा कैदीबन्दी आएर कारागारमा चाप बढेपछि गर्मीको मौसममा निक्कै समस्या हुने भएकाले सो मन्त्रालयले जेनेरेटर प्रदान गरेको निमित्त कार्यालय प्रमुख (जेलर)प्रदीपकुमार साहले बताए ।
एक सय ३५ जना मात्रै क्षमता भएको कारागारमा अहिले ४६४ कैदीबन्दी रहेकाले गर्मीमा निक्कै समस्या हुने गरेको मुख्य कैदी ९चौकीदार० श्रीनारायण महतोले जानकारी दिए । एक वर्षअघि कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले कारागारको भ्रमण गर्न आउनुभएका बेला यहाँका कैदीबन्दीले गर्मीको बेला बत्ती नहुँदाको बखतमा निक्कै समस्या हुने गरेको दुखेसो सुनाउँदा मन्त्री यादवले जेनेरेटर प्रदान गर्ने वाचा गरेअनुसार जेनेरेटर उपलब्ध गराइएको कारागार प्रशासन शाखाले जनाएको छ ।
मन्त्री यादवले करीब ६ लाखको लागतमा १५ केभिएको जेनेरेटर थान एक र सो को जडान गराइदिएको कारागारले जनाएको छ । जेनेरेटर जडान भएपछि अब बत्ती काटिएका बेला पनि कैदीबन्दीलाई अध्याँरो तथा गर्मीको सामना गर्नु नपर्ने र उज्यालो भएपछि सम्भावित घटनाबाट पनि कारागार जोगिने निमित्त जेलर साहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया