आईजीपी खनाल फ्रान्स प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आज फ्रान्सको लियोन प्रस्थान गरेका छन् । 

अन्तर्राष्ट्रिय (अपराध) प्रहरी संगठन (इन्टरपोल)को १५ औं सम्मेलनमा सहभागी हुन आईजी खनाल  फ्रान्स गएका हुन् ।

सम्मेलन चैत २६ देखि २८ गतेसम्म फ्रान्सको लियोनमा हुनेछ । सम्मेलनमा सुरक्षा प्रमुखहरुसँगको अन्तरक्रियाबाट NCB हरुको कार्यशैलीमा थप प्रभावकारिता ल्याउन अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित विभिन्न नवीन प्रविधि र अपराध नियन्त्रण तथा सुरक्षा सम्बन्धी नयाँ रणनीतिहरुमा सहकार्य गर्ने सम्बन्धमा छलफल हुनेछ । विकसित नयाँ प्रविधिमा साक्षात्कार  एवम् अन्तर्राष्ट्रियस्तरमा व्यावसायिक सम्बन्ध विस्तार गर्दै भावी रणनीति तय गरी कार्यान्वयनमा लैजान विभिन्न सदस्य राष्ट्रहरुबीच द्विपक्षीय छलफलका साथै एसिया तथा दक्षिण प्यासिफिक क्षेत्रीय गोलमेच छलफल समेत सो अवसरमा हुने कार्यक्रम रहेको छ ।

साथै प्रविधि एवम् प्राविधिक क्षेत्रमा भएको परिवर्तन, आतंकवाद र आतंककारी क्रियाकलाप, साइवर अपराध, डार्क-नेट, क्रिप्टो करेन्सिज, डिएनए, फिङ्गरप्रिन्ट डाटावेश तथा फेसियल रिकगनिसन लगायतका विषय र ती विषयका चुनौती तथा समाधानका पक्षमा समेत सम्मेलनमा विशेष छलफल हुने कार्यक्रम तय भएको छ । 

इन्टरपोल महासचिवालयको आयोजनामा प्रत्येक वर्ष उक्त सम्मेलन संचालन हुने गर्दछ । यस वर्षको उक्त सम्मेलनमा इन्टरपोलका सम्पूर्ण १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने कार्यक्रम रहेको छ । 

प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?