काठमाडौं । माध्यमिक शिक्षा (एसईई)को प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले आज (बिहीवार) सार्वजनिक गर्दैछ ।
दिउँसो २ः३० बजे जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी प्रश्नपत्र आउन गर्ने कार्यमा संलग्न आरोपीहरुलाई आज सार्वजनिक गर्न लागिएको सप्तरीका डीएसपी भावेष रिमालले जानकारी दिए ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालको उपस्थितिमा आरोपीहरुलाई सार्वजनिक गरिने डीएसपी रिमालले जानकारी दिए ।
यही चैत १० गतेबाट शुरु भएको एसईई परीक्षा अन्तर्गत १४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो ।
लगातार दुईदिन एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सीआईबीलाई अनुसन्धान थाल्न निर्देशन दिएका थिए ।
त्यसको अध्ययन गर्न सीआईबीको टोली अनुसन्धानका लागि सप्तरी पुगेका थिए । अनुसन्धानको क्रममा प्रहरीकै संलग्नता भएको पाइएको थियो । प्रहरीकै संलग्नतामा प्रश्नपत्र किनबेच भएको अनुसन्धानबाट पत्ता लागेको हो ।
सीआईबीका एक उच्च अधिकारीका अनुसार प्रश्नपत्र आउट गर्ने काममा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलसहित आठ जना पक्राउ परेका छन् ।
प्रदेश २ मा लगातार दुई दिन प्रश्नपत्र आउट भएको थियो । त्यो सँगै प्रदेशअ २ मा एसईई परीक्षा स्थगित गरीएको थियो ।
स्थगित परीक्षा पुनः सञ्चालन गर्न नयाँ परीक्षा तालिका सार्वजनिक गरिएको छ ।
नयाँ तालिका अनुसार प्रदेश २ मा यही चैत २२ गतेदेखि पुनः एसईई परीक्षा सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया