बारा र पर्सामा ४८ नटको वेगले आँधी : वरिष्ठ मौसमविदको टोली अध्ययनका लागि जाँदै

काठमाडौं । आइतवार साँझ आएको विनासकारी आँधीबेहरीको अध्ययन गर्न मौसम विज्ञान विभागबाट वरिष्ट मौसमविद् सहितको टोली आज (बुधवार) बारा र पर्सा जिल्ला जाँदै छन् । 

वरिष्ठ मौसमविदद्वय सुजन सुवेदी र अर्चना श्रेष्ठ तथा सहायक मौसमविद गोविन्द झासहितको टोली आज त्यसतर्फ जान लागेका हुन् ।

टोलीले त्यहाँको स्थलगत अध्ययन र अवलोक गर्नें छन् । 

साथै सरकारले यो टोलीले ल्याउने रिपोर्टका आधारमा थप अध्ययनको लागि अर्को उच्चस्तरीय टोली बनाउने वा नबनाउने भन्ने निर्णय गर्ने तयारी छ ।

मौसमविदका अनुसार सानो क्षेत्रमा मात्रै क्षति पुर्याउने गरी बारा र पर्सामा आएको हावाहुरी असामान्य रहेको र यो अध्ययनको विषय भएको बताएका छन् । 

‘यो नेपालमा एक्सट्रिम केस हो, यसको अध्ययन जारी छ’ मौसमविद विभूति पोखरेलले भने । 

गृहमन्त्रालयका अनुसार आइतवार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको मृत्यु भएको र ३ सय ८४ जना घाइते भएको तथ्यांक निकालेको छ । तर, आमसञ्चारमाध्यममा भने बारा र पर्सामा गरेर हालसम्म ३१ जनाको मृत्यु र ५ सय भन्दाबढी घइते भएको जनाएको छ । 

आँधीले बाराको फेटा गाउँपालिकाको भलवरीया र पुरनीया गाउँमा धेरै क्षति पुर्याएको छ भने सयौं भन्दा बढी परिवार घरविहिन भएका छन् । 

साथै आँधीले फलफूल र अन्नबालीमा समेत क्षति पुर्याएको छ ।

मौसमविद् भन्छन्, ‘सो दिन बारा र पर्सामा ४८ नटको वेगले आँधी आएको थियो । तर, यसअघि नेपालमा ३० नटभन्दा बढीको वेगले शक्तिशाली आँधी आएको रेकर्ड छैन ।’

‘त्यसदिन वायुमण्डलको माथिल्लो र तल्लो तहमा तातो–चिसो हावा एक साथ बहदा विनासकारी आँधीबेहरी आयो, वायुमण्डलमा तातो हावामाथि जान खोज्ने र चिसो हावा तल जान खोज्ने संघर्षले भूमरी आयो र त्यसमा स्थानीय वायु पनि मिसिँदा धेरै बारा र पर्सामा धेरै क्षति भयो’ मौसमविदका प्रारम्भिक अनुमान छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?