१२ ग्राम खैरो हिरोइनसहित झापाबाट तीन जना पक्राउ

बनियानी । झापामा दुई दिनभित्र १२ ग्राम लागूऔषध खैरो हिरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ परेको छ । 

झापाको अर्जुनधारा नगरपालिकाबाट शनिवार राति दुई जना पक्राउ परेलगत्तै आइतवार दिउँसो मेचीनगरबाट थप एक जनालाई प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ स्थित गोलधाममा पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ का घनश्याम साहको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

सोही मोटरसाइकलमा सवार अर्जुनधारा–८ का २१ वर्षीय प्रकाश राजवंशीको साथबाट लागूऔषध लुपिजेसिक २० थान, फेनारगन २० थान र डाइजेपाम २० एम्पुल फेला परेको उनले बताए ।

गूऔषधसहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ । 

यसैगरी मेचीनगर नगरपालिका–६ भन्सार गेटबाट खैरो हिरोइनसहित आइतवार दिउँसो शिवसताक्षी नगरपालिका–३ का २६ वर्षीय विकास कार्कीलाई ६ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

लागूऔषधसहित पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?