महाशिवरात्रि: पशुपतिमा ५ हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक परिचालन

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ । 

पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनको लामको व्यवस्था, सुरक्षा, आवास, तथा प्राथमिक स्वास्थ्योपचारलगायत सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए ।

पशुपतिनाथ पाश अर्थात् बन्धनमा परेका प्राणीका मुक्तिदाता मानिन्छन् । कैलाशनिवासी शिवले मृगस्थलीमा मृग रुप लिई धेरै वर्ष रमण गरेको पौराणिक कथामा वर्णन छ । 

पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भीडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक परिचालन गरेका छन् ।

कोषको ऐनमा नै पाशुपत क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमा समेतमा गाँजा, भाङ, जाँडरक्सी जस्ता नशालु पदाको बिक्रीवितरण, ओसारपसार एवं प्रयोगमा प्रतिबन्ध लगाइएको छ । 

कोषले यस वर्ष दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था मिलाएको छ । विगत वर्षमा मूल सभा समितिबाट नै सम्पूर्ण व्यवस्था हुन्थे । यस वर्ष एउटा एउटा विषयगत उपसमितिको गठन भई सेवा दिइने भएको कोषले जनाएको छ । 

त्यस्तै दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको छ । हंसमण्डप, वनकालीको खुल्ला स्थान, तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ । आवास क्षेत्रमा एक सय संस्थाले निःशुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाइएको छ । 

यस वर्ष शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तको सङ्ख्या वृद्धि भएको छ । इलाहावादस्थित प्रयागमा भएको कुम्भमेलालगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढेको कोषका मुख्य लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताए । उनीहरुलाई यही फागुन २२ गते दानदक्षिणका साथ बिदाइ गरिने कोषले जनाएको छ । 

त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि पाँच स्थान छुट्याइएको छ । यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । दर्शनका लागि बिहान ३ः ३० बजेदखि नै पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुल्ला गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?