WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल फागुन १२ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. महिला विश्वकप क्रिकेट छनोट -नेपालद्वारा हङकङ चार विकेटले पराजित : ‘आइसीसी’ महिला विश्वकप क्रिकेट छनोटको चौथो खेलमा नेपाल विजयी भएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आइतवार सम्पन्न भएको चौथो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो । ६३ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालले १८ दशमलब ३ ओभरमा ६ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग(यो ।
2. 'विप्लप' समूहले बम विस्फोट गरेको गृहमन्त्रीको खुलासा, यसो भने समिति बैठकमा : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले श्रृंखलावद्ध रुपमा एनसेलको टावरहरुमा भएको बम विस्फोटन नेत्र विक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बताएका छन् । आइतबार राज्य व्यवस्था समितिको बैठकमा ‘२०–२१ वटा जिल्लामा रहेका एनसेल मुख्यालय तथा टावरहरुमाथि भएको आक्रमणको जानकारी दिँदै गृहमन्त्री बादलले सबै बम हमला तथा आगजनीमा विक्रम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात रहेको बताएका हुन् ।
3. प्रदेशसभा बैठक – तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड : प्रदेशसभा १ को आजको बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफलमा सहभागी सदस्यहरुले सरकारको तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड दिएको छ । उनीहरुले सहकारी ऐनले उद्योग, पर्यटन, कृषि क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्ने, शेयरधनीको लगानी र बचतको सुनिश्चित हुनुपर्ने तथा सहकारी ऐन ‘एकसँग सबै, सबैसँग एक’ भावनामा आधारित भएमा मात्र राज्य लाभान्वित हुने धारणा राखे ।
4. जब मौन प्रर्दशनले झडपको रुप लियो, कांग्रेस मुख्यालयमा जे देखियो (भिडियो सहित ) : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार पार्टी कार्यालय सानेपामा तय गरिएको थियो । बैठकमा सहभागि हुन आउने नेताहरुलाई नेविसंघ सुनिश्चितता र ३२ वर्षे उमेर हद लागू गर्दै तदर्थसमिति बनाइनुपर्ने दवाव दिँदै आएको कृष्ण प्रसाद सिटौला समूहका कार्यकर्ता तीन दिन देखि निरन्तर धर्नामा थिए ।
5. दीपक बोहोरासहितका नेता राप्रपामा प्रवेश : राष्ट्रिय प्रजातन्त्रक पार्टी (प्रजातान्त्रिक)का नेता दीपक बोहोरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र दिपक बोहराले नेतृत्व गरेका राप्रपा (प्रजातान्त्रिक)का बीच आज काठमाडौंमा एकता भएको हो । आइतवार विहान दुवै पार्टीको संयुक्त कार्य सम्पादन समितिको बैठकमा एकताको आधारपत्रमा हस्ताक्षर भई घोषणासभा गरिएको छ ।
6. नेविसंघका कार्यकर्तामाथि प्रहरीको लाठ्ठीचार्ज, पार्टी कार्यालय तनावग्रस्त : नेपाल विद्यार्थी संघ (नेविसंघ) को मौन प्रदर्शनमा प्रहरीले लाठ्ठीचार्ज गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठक बाहिर नेविसंघले गरेको मौन प्रदर्शनमा प्रहरीले लाठ्ठी चार्ज गरेको हो । प्रहरीले लाठ्ठी चार्ज गरेपछि अहिले त्यहाँको अवस्था तनाव ग्रस्त भएको छ ।
7. नेविसंघको झडपमा पत्रकार घाइते, पार्टी कार्यालयभित्र विद्यार्थी नेतालाई प्रवेश निषेध : नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएपछि झडप भएको छ ।संस्थापन पक्षका ऋषिजंग शाही र कृष्ण प्रसाद सिटौला पक्षका सुशील भट्ट नेतृत्वको नेविसंघका नेता कार्यकर्ताबीच झडप हुँदा दुबै पक्षका गरी १० जना घाइते भएको जनाइएको छ ।
8. ‘प्रदेश ७’को नाम ‘सुदूरपश्चिम’ ?गृहमन्त्रीले आश्चर्य मान्दै भने, ‘मलाई त थाहा नै छैन’ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रदेश ७ को नामाकरण भएकोबारे आफूलाई थाहा नभएको बताएका छन् । आइतवार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री थापाले प्रदेश नम्बर ७ को नामाकरण ‘सुदूरपश्चिम’ बनेकोबारे आफू अनभिज्ञ भएको बताएका हुन् ।
9. तीनदिन देशभर वर्षा र हिमपातको सम्भावना, यस्तो छ मौसमविदको पूर्वानुमान : देशभर तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेको छ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा आजदेखि बिहीवारसम्म मेघ गर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले जानकारी दिए । नेपालमा प्रवेश गरेको पश्चिमी वायुको प्रभाव गएरातिदेखि नै बदली शुरु भएको छ ।
10. राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम : नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो । नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिइएको बताए ।
11. सिन्डिकेटरहित यातायात महासंघमा १ सय ११ कम्पनी सूचिकृत : सिन्डिकेटरहित यातायात सेवा दिने उद्देश्यले स्थापना भएको सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालमा हालसम्म १ सय ११ यातायात कम्पनीहरु सूचिकृत भएको महासंघले जनाएको छ ।आज राजधानीको बुद्धनगरमा “सार्वजनिक यातायात क्षेत्रका विद्यमान समस्या र समाधान” विषयक प्रथम राष्ट्रिय गोष्ठी तथा अन्र्तक्रिया कार्यक्रममा महासंघका अध्यक्ष होम प्रसाद घिमिरेले कुनै पनि सिन्डिकेटजन्य गतिविधि नगर्ने र यात्रुहरुलाई उच्चस्तरको सेवा प्रदान गर्ने प्रतिवद्धतासहित देशभरबाट १ सय ११ यातायात कम्पनीहरु महासंघमा सूचिकृत भएको र धेरै कम्पनीहरुले सूचिकृत हुन इच्छुक रहेको जानकारी दिएका हुन् ।
12. २० वर्षमा १९ प्रधानमन्त्री फेरिए, तर आएन मेलम्चीको पानी : ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे ।सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष फेरिए, तर मेलम्चीको पानी काठमाडौं आइपुगेन ।
13. आठौँ राष्ट्रिय खेलकुद अन्योलमा, खेलाडीहरु चिन्तित : नेपालगन्जलाई केन्द्रमा राखेर आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताले बाँकेवासीलाई खुशी तुल्याएको छ ।बाँकेवासीसँगै खेलाडी र खेलप्रेमीहरु प्रतियोगिताको प्रतिक्षामा छन् । खेलक्षेत्रमै क्रियाशील खेलाडीका लागि यो महाकुम्भ हो, जसले आफ्नो नामसँगै दाम पनि कमाउन चाहेका छन् ।
14.दुर्घटना न्यूनीकरण गर्न ४८ हजार चालकलाई प्रशिक्षण : नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो ।
15. काठमाडौंको विद्युत् प्रणाली भूमिगत गरिदै : विद्युतीय दुर्घटनाको जोखिम न्यून गर्दै, शहरको सौन्दर्य बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको प्रशारण प्रणालीलाई भूमिगत गर्ने भएको छ ।प्राधिकरणले पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न निर्माण व्यवसायी छनोट गरेको छ ।
16. अमेरिकामा एक नेपालीको गोली हानी हत्या : अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा एक नेपालीको गोली हानी हत्या गरिएको छ । लम्जुङ घर भएका सुभाष घलेको हत्या भएको हो । हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो भने अन्य दुई घाइते भएका छन् ।
17. भारतमा विषाक्त मदिरा-मृत्यु हुनेको संख्या एक सय ३० पुग्यो : भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या एक सय ३० पुगेको छ । भारतको आसाम राज्यमा भएको यस घटनामा परी बिरामी भएका दुई सयभन्दा बढी व्यक्तिको उपचारका भइरहेको छ । मृत्यु भएका र बिरामी भएका सबै आसामको चिया बगानमा काम गर्ने मजदूरहरू हुन् । मृत्यु हुनेक्रम गत बिहीबार देखि शुरु भएको थियो ।
18. ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाका नेता किम भियतनाम प्रस्थान : उत्तर कोरियाका नेता किम जोङ उन तीन दिने भ्रमणका लागि भियतनाम प्रस्थान गरेका छन् । नेता किम जोङ उन अमेरिकी राष्ट्रपति ट्रम्पसँगको शिखर वार्ताका लागी भियतनाम प्रस्थान गरेका हुन् । वार्ता भियतनामको राजधानी हानोईमा बुधवार र बिहीवार हुने तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया