सिन्डिकेटरहित यातायात महासंघमा १ सय ११ कम्पनी सूचिकृत

काठमाडौं । सिन्डिकेटरहित यातायात सेवा दिने उद्देश्यले स्थापना भएको सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालमा हालसम्म १ सय ११ यातायात कम्पनीहरु सूचिकृत भएको महासंघले जनाएको छ ।

आज राजधानीको बुद्धनगरमा  “सार्वजनिक यातायात क्षेत्रका विद्यमान समस्या र समाधान” विषयक प्रथम राष्ट्रिय गोष्ठी तथा अन्र्तक्रिया कार्यक्रममा महासंघका अध्यक्ष होम प्रसाद घिमिरेले कुनै पनि सिन्डिकेटजन्य गतिविधि नगर्ने र यात्रुहरुलाई उच्चस्तरको सेवा प्रदान गर्ने प्रतिवद्धतासहित देशभरबाट १ सय ११ यातायात कम्पनीहरु महासंघमा सूचिकृत भएको र धेरै कम्पनीहरुले सूचिकृत हुन इच्छुक रहेको जानकारी दिएका हुन् ।

यस्तै, महासंघका उपाध्यक्ष कृष्ण बहादुर तिमल्सिना खत्रीले सिन्डिकेटरहित यातायात सेवा दिने कम्पनीहरुका विभिन्न समस्याहरु समाधान गर्न र व्यवस्थित तथा सरकारी मापदण्ड अवगत गराउन पनि महासंघको स्थापना हुनु अनिर्वाय भएको भनाई राखे । 

सो कार्यक्रममा सुर्खेतबाट प्रतिनिधिसभामा निर्वाचित नवराज राउत र यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक शरदचन्द्र अधिकारी, नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल तथा जनकवि भोला बराल लगायतका वक्ताहरुले सरकारले सिन्डिकेट पूर्णरुपमा समाप्त पारेर यातायात क्षेत्रमा व्याप्त विकृतिको अन्त्य गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा महासंघका महासचिव गणेश उप्रेतिले कार्यपत्र प्रस्तुत गर्दै सिन्डिकेटरहित यातायात सेवाले अहिलेसम्मकै उत्कृष्ट सेवा तथा सुविधा दिने ठाकुवा गरेका थिए । कार्यपत्रमाथि टिप्पणी राखेका अधिवक्ता मनिस कुमार श्रेष्ठले कानुनी रुपमै सिन्डिकेट खारेज भईसके पनि त्यसका अवशेषहरु कायम रहेको भनाई राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?