उपत्यकामा दिउँसै चोरी हुने घटना बढ्यो

काठमाडौँ– यो हप्ता काठमाडौँ उपत्यकामा लगातार सात वटा चोरीका घटना भएका छन् । तीमध्ये अधिकांश दिउँसोको समयमा भएका छन् । सुन्दा, पत्यार समेत नलाग्ने यस्ता चोरीका घटना दिउँसै हुन थालेपछि प्रहरीअधिकारी पनि अलमलमा परेका छन् ।
महानगरीय प्रहरी कार्यालयका अनुसार, आइतबार दिउँसो बाँसवारी, सोमवार दिउँसो घट्टेकुलो, बुढानिलकण्ठ र कोटेश्वर, मङ्गलवार रातोपुल र तीनकुने, बुधवार सानेपा तथा बिहीवार टोखामा गरी पाँच दिनमा सात स्थानमा चोरी भएको छ ।
तीमध्ये कोटेश्वरस्थित अनु पौडेलको घरमा मात्र रातिको समयमा झ्यालबाट प्रवेश गरी चोरी भएको छ । दराजमा रहेको ३५ हजार नगद, सुनको गरगहना र ल्यापटप गरी तीनलाख ७५ हजार मूल्य बराबरको चोरी भएको पीडितको भनाइ छ ।
‘विगतका वर्षहरूमा रातिको समय र चाँडपर्वको बेला चोरीका घटना बढी हुन्थे’ महानगरीय प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामा भन्छन्, हिजोआज ठीक त्यसको उल्टो भएको छ । राति होइन दिनदहाडै चोरी हुने गरेको छ ।  
विशेष गरी कार्यालय सयममा सबैजना काममा जाने हुँदा कोही नभएको मौकाछोपी दिउँसो घरकोठाको मूलढोका फोडेर र राति झ्याल खोलेर चोरी हुने गरेको छ । ्घट्टेकुलो, बुढानिलकण्ठ, सानेपा र वाँसबारीमा दिउँसो, रातोपुल र कोटेश्वर साइमार्गस्थित एक घरमा भने साँझ चोरी भएको छ ।
परिसर प्रमुख लामा भन्नुहुन्छ, ‘‘घरमा मानिस भएकै अवस्थामा पनि बिहान छोराछोरी स्कुल पु¥याउन जाँदा र साँझ लिन जाँदा पनि चोरी हुने गरेको छ । रातिभन्दा दिनमा चोरीका घटना बढी हुन्छन्् ।’’
दिउँसो सबैजना काममा जाने भएकाले झ्यालभन्दा मुख्य ढोका फोडेर चोर्न सहज र सुरक्षित हुने गरेको पाइएको छ । चोरी अपराधको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक अनिल अधिकारीका अनुसार, पट्के चोरको मुख्य निशाना नगद र गरगहना नै हो । गोरखापत्र दैनिकमा खबर छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?