काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्षे कार्यकाललाई आफूले ‘पासमार्क’ समेत नदिने बताएका छन् । उनले भने,‘मैले यो सरकारको एक वर्षे कार्यकाललाई पास मार्क दिन सकिनँ ।’
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले यो एक वर्षको अवधिमा सरकारले धेरै ठूला–ठूला विकासका काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘दुई तिहाईको बलियो सरकार भएकोले जनताले यसले महँगी नियन्त्रण गर्ला र भ्रष्टाचार नियन्त्रण गर्ला भन्ने आशाा गरेका थिए । तर, यो सरकारले त्यो काम गर्न सकेन् ।’
केसीले सरकारले किसानको समस्यापनि समाधान गर्न नसकेको आरोप लगाए । उनले भने,‘क्रान्तिकारी भूमि सिद्धान्त पनि आएन् । मजदुरहरुको समस्या त्यस्तै छ । यतातिर सरकारले खासै केही पनि गर्न सकेन् । न नीति राम्रो ल्यायो, न त व्यवहारमा नै केही लागु गर्यो ।’
शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण भएको पनि उनले आरोप लगाए । उनले भने,‘नेपालीहरुको व्यवहार यहाँ उत्पादन निर्यात गरेर चलेको होईन, नेपालले गर्ने निर्यात भनेको हाम्रा छोराछोरीहरु हुन् । उनीहरुले पठाएको रेमिट्यान्सले व्यवहार चलेको छ।’
सरकारले यो एक वर्षको अवधिमा साना तिना भ्रष्टाचारीहरुलाई पक्राउ गरेको भएपनि ठूला तस्करी र भ्रष्टाचारीहरुलाई पक्राउ गर्न नसकेको केसीको आरोप छ । उनले भने,‘साना भ्रष्टाचारी र भरिया पक्रिएर केही हुँदैन् । छुपे रुस्तम कुनामा अहिलेपनि ठूला ठूला माछा र तस्करहरु सुरक्षित छन् ।’
अध्यक्ष केसीले गणतन्त्र र धर्मनिरपेक्षता आउनु राम्रो भएपनि संघीयताले नेपाली जनतामाथि पीडा थपिदिएको गुनासो पोखे ।
नेकपा (माले) का महासचिव एवम् पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले वर्तमान सरकारको एक वर्षे कार्यकाललाई आफूले ूुन्य अंक दिने बताए । उनले भने,‘यो सरकार दुई तिहाईको सरकार हो, तर यो परम्रागत ढंगबाट नै चल्यो । यसले आफ्नो कम्युनिष्ट चरित्रअनुसार काम गर्न सकेन । त्यसैले शुन्य अंक पाउनुपर्ने हो ।’
महासचिव मैनालीले सरकारले राम्रो योजनाअनुसार काम गर्न नसकेको पनि आरोप लगाए ।
नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले यो सरकारले एक वर्षमा गरेको कामको फेहरिस्त भन्दापनि गर्न नहुने काम के–के गर्यो भन्ने फेहरिस्त आफूहरुसँग रहेको सुनाए ।
तर, नेकपाका नेता एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले सरकारको एक वर्षे कार्यकालको मुल्यांकन गर्दा आफूले ‘डिस्टिंक्शन’ दिने बताए । उनले भने,‘सरकार अलोकप्रिय भएको भए अरु दलको समर्थन यतिबेलासम्म फिर्ता भैसक्थ्यो । अहिलेसम्म समर्थन जारी छ । त्यसैले सरकार अहिलेपनि सही ट्रयाकमा छ ।’
पोखरेलले वर्तमान सरकार घोषित उद्देश्यअनुसार नै अघि बढिरहेको पनि जनाए । उनले भने,‘कांग्रेसले बजेट ल्याउँदा समर्थन गरेकै हो । बजेट सर्वस्विकृत पारित भएको हो ।’ उनले सरकार प्रमुख प्रतिपक्षी दललाई समेत विश्वासमा लिएर अघि बढिरहेको जिकिर गरे ।
सुन तस्करीदेखि लिएर अन्य तस्करहरुलाई समेत सरकारले नियन्त्रणमा लिएको र कानुनी कारबाही गरेको उनले बताए । उनले भने,‘कतिपयलाई त जेल हालेको छ । तस्करी नियन्त्रण गर्न सरकारले काम गरेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया