काँग्रेसले नेविसंघको तदर्थ समिति गठन गर्न सकेन

काठमाडौं– नेपाली कांग्रेसले नेविसंघको तदर्थ समिति गठन गर्न ढिलाई गरेको छ । तदर्थ समिति कसरी बनाउने भन्नेबारे नेताहरुबीच मतभेद रहेकाले ढिलाई भएको बताइएको छ । नेविसंघको एक समूहले ३२ वर्ष उमेर हदबन्दीलाई नै कायम राखेर तदर्थ समिति बनाउनु पर्ने माग गर्दै आएको छ । तर नेताहरुबीच कुनै समझदारी भइसकेको छ ।
आजको काँग्रेस केन्द्रीय समिति बैठकले तदर्थ समिति पार्टी सभापति  शेरबहादुर देउवाले आवश्यक परामर्श गरेपछि गठन गर्ने निर्णय गरेको छ ।

यस्तै काँग्रेसको  केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति  विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यसमितिको तर्फबाट गत महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव परिमार्जनसहित आजको बैठकमा पेश गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस्तै बैठकमा भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघ र शुभेच्छुक संस्था प्रजातान्त्रिक वन प्राविधिक संघ–नेपालद्वारा स्वीकृतिका लागि पठाइएको विधान छलफलका लागि बैठकमा पेश भएको छ ।
आजको बैठकमा केन्द्रीय सदस्यहरु— बालकृष्ण खाण, रमेश रिजाल, महेन्द्र यादव, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, बहादुर सिंह लामा , लक्ष्मी परियार, अमृत अर्याल र अतहर कमाल मुसलमानले आ–आफ्नो धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७५ फाल्गुण ९ गते बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?