आज सोनाम ल्होछार, विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । 

मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५ औँ सोनाम ल्होछार हो । 

मञ्जुश्री पात्रो शुरु भएको २८५५ औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । 

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताए । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । 

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, भेशभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ ।

आज दिउँसो १ बजे टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  यस अवसरमा आज ३ नं प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?