कान्ति अस्पतालमा बेथितिका चाङ, निर्देशककै स्वार्थमा अस्पतालको वार्ड नै बन्द ! (भिडियोसहित)

लोकपथ
702
Shares

काठमाडाैं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले मनोमानी ढंगबाट १७ दिनसम्म पेइङ मेडिकल वार्डको २० बेडमा ताल्चा ठोकेको छ । ४० बेड रहेको उक्त वार्डमा नर्सिङ कर्मचारीको अभाव भएको भन्दै १७ दिनसम्म २० बेड बन्द गरेको हो ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाको ठाडो निर्देशनमा नर्सिङको कर्मचारी नभएको भन्दै अस्पतालले गत वैशाख ३१ गते बेड संख्या घटाएको सूचना जारी गरेको थियो ।

लामो समयदेखि नर्सिङ कर्मचारीको संख्या घट्दै गएको थाहा हुँदा हुँदै पनि निर्देशकले नर्सको पदपूर्तिमा चासो नदिएको अस्पतालका कर्मचारीहरुले समेत आपत्ति जनाए । अस्पतालका कर्मचारीले विरोध गरेपछि मंगलबारबाट वार्डका ढोकामा लागेको ताल्चा भने खोलिएको एक कर्मचारीले लोकपथलाई बताए ।

‘निर्देशक ज्यूलाई नर्सको समस्या छ भन्ने कुरा पहिला नै थाहा थियो,’ अस्पतालका एक कर्मचारीले भने, ‘उहाँले नर्सको पदपूर्तिका लागि कुनै कदम चाल्नुभएन बरु वार्ड नै बन्द गरिदिनुभयो ।’

निर्देशकको यो कदमले दुरदराजबाट उपचारका लागि आएका बालबालिकाहरु मारमा परेको अस्पतालका कर्मचारीहरु नै बताउँछन् । ‘बिरामीहरुको चित्कार सुन्दा हामीलाई असह्य हुन्छ, बेड खाली देख्छौँ तर छैन भन्न बाध्य छौँ,’ एक कर्मचारीले भने, ‘निर्देशक ज्यूले किन यस्तो कदम चाल्नुभयो हामीलाई नै थाहा छैन ।’

२८ वर्षदेखि अस्पतालमा कार्यरत नर्स प्रभा कुमारी राउत भने नर्स नभएर वार्ड नै बन्द गर्नुपर्ने अवस्था इतिहासमै पहिलोपटक भएको बताउँछिन् । उनी सोही वार्डमा कार्यरत थिइन् । तर, उनीसहित अन्य नर्सलाई अन्यत्र वार्डमा पठाएर चलिरहेको बेड संख्या घटाएकोमा उनको पनि आपत्ति छ । ‘अस्पतालमा नर्सको संख्या कम छ त्यसलाई मान्छु तर विकल्प नै नभएको भने होइन,’ उनले भनिन्, ‘पेइङ मेडिकल वार्डमा नर्सको अभावमा सेवा नै बन्द गर्नुपर्ने अवस्था छैन ।’

वार्डकी नर्सिङ इन्चार्ज बिना घिसिङ भने अस्पतालमा नर्सको हाहाकार भएकाले नै वार्ड बन्द गर्नुपर्ने अवस्था आएको बताउँछिन् । पेइङ वार्डमा भएका नर्सलाई अन्य वार्डमा पठाइएकाले बेड संख्या घटाउनुपर्ने अवस्था आएको उनी बताउँछिन् । ‘अरु वार्डमा नर्सको अभाव भएपछि यस वार्डको स्टाफ पठाइएको हो,’ उनले भनिन् ।

यता अस्पतालका सूचना अधिकारी रमेशनर सिंह केसी भने उक्त वार्ड बन्द भएको सूचना आफूलाई प्राप्त नभएको बताउँछन् । ‘निर्देशक ज्यूले वार्ड बन्द गर्ने निर्णय गरिसक्नुभएको रहेछ मैले पनि कर्मचारीबाट थाहा पाएँ,’ उनले भने, ‘मलाई त उहाँले कुनै सूचना नै दिनुभएको छैन मैले के जवाफ दिने ?’

अस्पतालकी मेट्रोन रोशन लक्ष्मी तुईतुई भने निर्देशक र अस्पताल विकास समितिका अध्यक्षलाई पटक–पटक नर्सको पदपुर्ति गर्न अनुरोध गर्दासमेत चासो नदिएपछि वार्ड नै बन्द गर्नुपर्ने अवस्था आएको बताउँछिन् । ‘मलाई त नर्सिङ स्टाफ दिनुभयो भने त्यहीअनुसार व्यवस्थापन गर्ने हो,’ उनले भनिन्, ‘मैले अस्पतालमा नर्सको अभाव हुन थाल्यो भनेको झण्डै २ महिना बितिसक्यो तर यसमा कसैले पनि चासो देखाउनुभएन ।’

यता अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतम भने आफूले नर्सको पदपूर्ति गर्नका लागि निर्देशकलाई निरन्तर ताकेता गर्दा पनि वास्ता नगरेको बताउँछन् । ‘मैले त यो अवस्था आउँदैछ भन्ने थाहा पाएपछि निर्देशक ज्यूलाई फोन, म्यासेज गरेर छिटो प्रक्रिया थाल्नका लागि भनेको थिएँ,’ उनले भने, ‘तर त्यसमा उहाँले खासै चासो दिनुभएन ।’

डा. गौतम पनि अस्पतालमा पेइङ मेडिकल वार्ड बन्द गर्ने विषयमा आफूसँग निर्देशकले कुनै सल्लाह नगरेको बताउँछन् । ‘उहाँले आफ्नै ढंगबाट वार्डको बेड संख्या घटाउनुभएछ,’ उनले भने, ‘मैले पनि अस्पतालका कर्मचारीबाट थाहा पाएँ ।’

यस विषयमा हामीले अस्पतालका निर्देशक डा. बसौलासँग कुराकानी गर्न खोज्दा उनी बोल्न चाहेनन् । भिडियो कुराकानीका लागि झण्डै तीन घण्टादेखि अस्पतालमा कुराएका डा. बसौला अन्तिममा बैठक छ भन्दै जवाफ दिनबाट पन्छिए ।

अस्पताल सञ्चालन कार्यविधिले नै कार्यकारी निर्देशकलाई आकस्मिक अवस्थामा १ महिनाका लागि कर्मचारी भर्ती गर्न पाउने अधिकार दिएको छ । यद्यपि, त्यो अधिकारसमेत उपयोग नगरी नर्सिङ स्टाफको अभाव देखाउँदै वार्ड नै बन्द गर्ने अवस्थामा किन पुगे डा. बसौला ?

भिडियाे :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?