बर्दिवास । पर्याप्त उपकरणको अभाबमा उपचारमा समस्या झेल्दै आएको महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र सुविधा सम्पन्न हुँदै आएको छ ।
केन्द्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ‘अल्टरनेटिभ इनर्जी प्रमोसन सेन्टर’ले संयुक्त राष्ट्रसङ्घीय विकास कोष ‘युएनडिपी’को सहयोगमा दैनिक सात दशमलव दुई ‘७ दशमलब २’ युनिट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गरिदिएपछि उपचारका लागि उक्त केन्दलाई सहज भएको सञ्चालक समितिका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिए ।
सौर्य ऊर्जाका कारण बत्तिको अभाब पूर्ति हुनाका साथै औषधि भण्डारण सहज भएको केन्द्रले जनाएको छ । सौर्य ऊर्जा सञ्चय र प्रवाह गर्न १४ दशमलव चार ‘१४ दशमलब ४’ केडब्लुएचआर क्षमताका १२ भोल्टका १५० एम्पियरका आठ ब्याट्री जडान गरिएका छन् ।
केन्द्रमा जडित सौर्य ऊर्जामा पाँच केभिए क्षमताको इन्भर्टरले दुई हजार भोल्ट विद्युत् प्रवाह गर्ने अध्यक्ष देवकोटाले बताए ।
चट्याङ्ग प्रतिरोधी प्रविधि जडित सौर्य ऊर्जा सञ्चय गर्न आठ अत्याधुनिक प्यानल जडान गरिएका छन् ।
सौर्य ऊर्जाको सञ्चित प्रकाशले बिरामीको उपचारमा प्रयोग गरिने सक्सेन एपार्टससमेत जडान भएपछि गम्भीर प्रकृतिका सर्पदंशका बिरामीको उपचारमा निकै सहयोग पुगेको केन्द्रले जनाएको छ ९ लाखको लागतमा सौर्य ऊर्जा जडान भएपछि विद्युत् महशुलका लागि तिनुपर्ने मासिक १५ हजार बचत भएको छ ।
नियमित प्रकाश र भेन्टिलेटर सुविधासहितको सघन उपचारकक्षको आवश्यकता औँल्याइँदै आएकामा सौर्य ऊर्जा जडान भएपछि अब थप उपकरणका लागि सरकारको ध्यानाकर्षण गराइएको उक्त केन्द्रले जनाएको छ ।
वि.सं २०७१ साउन ३१ गते स्थापना भएर सञ्चालन हुँदै आएको उपचार केन्द्रमा हालसम्म करीब दुई हजारले उपचार सेवा लिइसकेका छन् । जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रबाट सर्पदंशका बिरामी आउने गरेकामा बर्दिवास नगर क्षेत्रबाट मात्रैै बितेका चार वर्षको अवधिमा ६ सय सर्पदंशका बिरामी उपचार गराउन आएका थिए यस भेगमा अत्यन्त विषालु गोमन र करेत सर्पको बिगबिगी रहेको पाइन्छ ।
यस केन्द्रमा नेपाली सेनाले छ दक्ष प्राविधिक उपलब्ध गराउँदै आएको अध्यक्ष देवकोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया