काठमाडौं ।
नमोः नवः तुलसी कृष्ण प्रियशी
कृष्ण राधा सेवा को सबै अभिलासी
हरिवोधनी एकादशीको शुभकामना ।
आज हरिबोधिनी एकादशी । यस वर्षको चाडपर्वहरुको खाता बन्द भएको विगुलकारुपमा समेत हरिबोधनी एकादशीलाई लिइन्छ ।
कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तिलाई आजबाट बाल्न बन्द गरिने चलन पनि छ ।
हरिबोधिनी एकादशी एउटा महत्वपूर्ण एकादशी हो, यस एकादशीलाई यसको महिमाका कारणले पनि सबैभन्दा ठूलो अर्थात ठूली एकादशी पनि भन्ने गरिन्छ ।
आजको दिन भगवान विष्णुप्रति समर्पित दिन हो, आजको दिन नै ‘हरिशयनी एकादशीबाट चिर निन्द्रामा सुत्नुभएका विष्णु भगवान उठ्नुहुन्छ’ भन्ने जनविश्वाश रहेको छ ।
यो मन्त्रको उच्चारण गर्दै भगवानलाई जगाउनुस् :
उत्तिष्ठ गोविन्द त्यज निद्रां जगत्पतये।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तं भवेदिदम्॥
उत्थिते चेष्टते सर्वमुत्तिष्ठोत्तिष्ठ माधव।
गतामेघा वियच्चैव निर्मलं निर्मलादिशः॥
शारदानि च पुष्पाणि गृहाण मम केशव।

हरिशयनी एकादशीमा रोपिएको तुलसीको विरुवा हरिबोधिनी एकादशीमा पूजा गर्ने चलन छ । आजको दिन विधीपूर्वक जप, होम गरेर तुलसीको होम लगाइन्छ भने यसरी अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसंग विवाह गरिदिने परम्परा पनि रहेको छ ।
तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाडेर अनि रगंरोगन गरेर श्रृंगारिन्छ । यसरी होम लगाँउदा रुद्रि पूजा पनि गरिने चलन छ । अब त खेतमा धानका वाला पनि लहलहाउन थालिसके, नयाँ धानको चामल कुटेर त्यस्मा दही, सख्खर आदि मिसाएर न्वाँगी चढाउने र प्रसादका रुपमा ग्रहण गर्ने चलन पनि छ । यस अर्थमा आजको दिन यसवर्षको नयाँ अन्नको औपचारीक प्रयोग गर्ने दिन पनि हो ।
आजको दिन भक्तालुहरु विहानैदेखि नुहाईधुवाई अनि चोखोभएर व्रत बस्ने अनि फलाहार तथा कन्दमुल चोखोनितो खानेकुरा लिने चलन छ । विष्णु भगवानलाई नारायणका नामले पनि पूजिन्छ र यीनै नारायण र काठमाडौं उपत्यकाको एउटा परम्परागत र परापूर्वकालिन सम्बन्धको समेत आज यहाँ चर्चा गर्न जाँदैछौं ।
यसक्रममा भक्तजनहरु उपत्यकाको चारै नारायण एकैदिनमा हिँडेर पुग्ने पनि गर्दथे भन्ने कथन छ । यसरी हिँडेर चारै नारायण पुग्ने तिर्थालुहरु अन्त्यमा फर्पिङ्गको शेष नारायणमा पुगेर आफ्नो तिर्थाटन समापन गर्ने गर्दथे ।
शेषको अर्थ अन्त्य भन्ने हुन्छ र नारायण दर्शनको समापनविन्दु पनि त्यहीं हुने गरेको भनाई छ । यसरी चारवटै नारायणको दर्शनार्थ पुग्नसक्ने भक्तालुहरुकालागि पाटनको कृष्ण मन्दिरको छेउमा चारनारायण मन्दिरमा उपत्यका वरिपरिका चारै नारायणको प्रतिमा राखिएको र सहज रूपमा दर्शन गर्ने व्यवस्था गरिएको हो ।
उतिबेला मानिससँग धेरै समय र भक्तिकालागि समय भएकाले पनि दिनभरि मन्दिर परिसरमा बस्ने गर्दथे र साँझ परेपछी फर्किने चलन भएको उपत्यकामा अझैपनि वृद्धवृद्धाले बताउने गर्दछन तथापि अहिले पनि यि नारायणहरुमा भक्तजनहरुको प्रशस्तै भिड हरिबोधिनी एकादशीको दिन देख्न सकिन्छ ।
यस बाहेक नेपालभर छरिएर रहेका भगवान विष्णुका मन्दिर अनि तिर्थस्थलमा तिर्थाटन गर्ने भक्तजनहरुको आज ब्यापक भिड रहने गर्दछ ।
वैदिक सनातन हिन्दू धर्मशास्त्रमा आयूर्वेद समेत महत्वपूर्ण भूमिका लिएको तुलसीको विरुवाको महत्व ठूलो छ । धार्मिक र सांस्कृतीक अनि वैज्ञानिकरुपमा पनि अति उपयोगी यस वनस्पतीलाई आङ्गनमा तुलसाको मठ बनाएर रोप्ने चलन छ ।
हजारौं वर्षदेखि सनातन सस्कारीहरु प्रातकालमै उठेर तुलसीमा पानी चढाएर अनि नमन गरेर मात्र आ–आफ्नो दैनिकीमा लाग्ने गरेका छन् । जन्म, मृत्यु देखि हरेक सनातन सस्कारमा तुलसीको बिरुवा अनि पातको महत्व हुन्छ । तुलसी पात हालेर अनि भगवानलाई अर्पण गरेर मात्र भोजन फलाहार आदि सेवन गर्ने चलन अझै पनि कैयन घर अनि परम्परामा बिधमान छ ।
आँगनको छेउको तुलसी मोठ बिवाह ब्रतबन्ध लगायत मृत्युशैयासम्मका लागि पवित्र स्थान मानेर उपयोग गरिने चलन छ ।
पद्म पुराणमा बिन्दा देवीले पृथ्वीमा आएर भगवान बिष्णु लाई आफ्नो पिता रुपमा पाउन गरेको तपस्यासँग तुलसीको महत्वलाई गासिंने गरेको पाइन्छ । त्यस्तै श्रिमद्ध भागवतको ३ को ५ को १९ औँ खण्डमा तुलसी बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको पाइन्छ ।
गौतमीय तन्त्र अनुसार भक्तहरुले हत्केला भरिको पानी र तुलसीको पातमात्र सफा हृदयले अर्पण गरेमा श्रि कृष्णको कृपाले सम्पूर्ण फल प्राप्त हुने महिमा छ । स्कन्द पुराण्ले पनि तुलसीको पूजा गरेमा अनन्त फल प्राप्त हुने व्याख्या गरेको छ ।
परापूर्वकालमा काठमाण्डौ शहरमाथी भगवान विष्णुको अनुकम्पा रहिरहोस भनी उपत्यकाको चारैतर्फको कुनामा विष्णुको प्रतिमा राखिएको हो जसको प्रतापका कारण विष्णुको अनुग्रह काठमाडौ शहरमा हरेक पिढी दरपीढि कायम रहने सामाजिक मान्यता रहेको पाइनछ । काठमाडौको पश्चिममा इचङ्गु नारायण, पूर्वमा चाङ्गु नारायण, उत्तरमा विशखुं नारायण अनि दक्षिणमा शेष नारायणका रुपमा विष्णुले काठमाडौंलाई हेरिरहेको जनविश्वाश छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया