काठमाडौँ- देशको सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौँको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न भएको छ ।
‘गणेशमान स्मृति भवन’ नामकरण गरिएको उक्त भवनको शिलान्यास विसं २०५४ मा भएको थियो । काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वरमा निर्माण भएको चार तलाको १६ कोठे उक्त भवनको आज १०४ औँ गणेशमान जयन्तीका अवसरमा काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरे । २१ वर्षअघि यो भवनको शिलान्यास पनि उनले नै गरेको आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।
शिलान्यास भएको २१ वर्षपछि निर्माण सम्पन्न भएकाले कति खर्च लाग्यो भन्नेसमेत काङ्ग्रेस काठमाडौँका नेतालाई थाहा छैन । सभापति कृष्ण सबुज बानियाँले यस अवधिमा धेरै जनाले जिल्लाको नेतृत्व सम्हालेकाले कति खर्च भयो भन्ने थाहा नभएको जानकारी दिए ।
“भवन बनाउने स्रोत पार्टीसँग थिएन, नेता, कार्यकर्ता र शुभेच्छुकसँग सहयोग मागेर भवन सम्पन्न गरेका छौँ, निर्माणमा कति खर्च लाग्यो भन्ने सबै हिसाब किताब खोजेर मात्र भन्न सकिन्छ”, उनले भने ।
सो अवसरमा नेता सिंहले कार्यालय भवनमा विद्युतीय पुस्तकालय निर्माण गरिनुपर्नेमा जोड दिदैं विश्व परिवेशमा आउने नयाँ नयाँ चिन्तन प्रविधिका माध्यमबाट नेपालीलाई जानकारी गराउने उद्देश्यले यस्तो पुस्तकालय आवश्यक भएको बताए ।
नेता सिंहले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारले विकास र समृद्धिको नेतृत्व गर्न नसक्ने उल्लेख गर्दै संविधान जारी गर्ने जिम्मेवारी आएजस्तै विकास र समृद्धिको नेतृत्व काङ्ग्रेसकै काँधमा आउने भएकाले तयारी शुरु गर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।
नेता नवीन्द्रराज जोशीले काङ्ग्रेस महासमिति बैठक तीन पटक सरिसकेकाले अब तोकिएकै समयमा गर्न नेतृत्वसँग माग गरे ।
काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी विधान बमोजिम सञ्चालन हुनुपर्नेमा जोड दिए ।
अर्का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अम्बिका बस्नेतले पार्टीभित्र शुद्धीकरण अभियान जरुरी रहेको विचार व्यक्त गरिन्
काठमाडौँका पूर्वसभापति भीमसेनदास प्रधानले विधिसम्मत पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया