राष्ट्रिय विभूति फाल्गुनन्दलाई यसरी सम्झिए प्रधानमन्त्री ओलीले

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभुति तथा समाज सुधारक फाल्गुनन्दले समाजिक विकृति, विसंगति हटाउन लागि सुरु गरेको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका छन् ।
आइतबार परेको फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उनले समाज सुधारको लागि जारी गरको घोषणा पत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन् ।
 शुभकामना सन्देशमा भनिएको छ, ‘फाल्गुनन्दले वि.सं. १९८८ बैशाख २४ गते  पाँचथरको लोब्रेकुटीबाट जारी गरेको समाज सुधारको ७ बुंदे घोषणा पत्र आज पनि उत्तिकै सान्दर्भिक छ । मलाइ लाग्छ त्यो घोषणा पत्रले हाम्रो समाज सुधारका लागि ठुलो योगदान ग¥यो ।’
फाल्गुनन्दले समाज सुधारका लागि दिएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफू जन्मे हुर्केको समाजमा भएका बेथिती देखेपछि त्यसलाई सुधार गर्ने तर्फ फाल्गुनन्दको निरन्तर प्रयासको प्रशंसा गरेका छन् ।
यसैगरी किराँत धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् ।  
समाज सुधारक फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूतिको घोषणा गरेको थियो ।
खासगरी किराँत धर्मवालम्बीहरुले  फाल्गुनन्दलाई  प्रेरक व्यक्तित्वको रुपमा समेत सम्मान गर्ने गर्दछन् ।
 प्रधानमन्त्री ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला फाल्गुनन्दको जन्मदिनको दिन किराँत धर्मवालम्बीहरुलाई  सार्वजनिक विदा दिन सुरुवात गरिएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?