भैरहवालाई मुलुकमै नमूना बनाएर अन्तर्राष्ट्रिय पहिचान दिलाउने : गृहमन्त्री खाँण

लोकपथ
91
Shares

भैरहवा । गृहमन्त्री एवं रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण खाँणले सिमावर्ती सहर भैरहवालाई मुलुकमै नमूना बनाएर अन्तर्राष्ट्रिय पहिचान दिलाउने बताएका छन् । उनले त्यसका लागि भैरहवाको गहनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने बताए ।

‘स्थापनाको खाका तयार पार्दादेखि विमानस्थल निर्माण गर्न कांग्रेस नेताको भूमिका छ,’ खाँणले भने, ‘अहिले अन्तर्राष्ट्रिय उडान सुरु भएका छन् । अव विमानस्थलका बाँकी काम पूरा गरेर पूर्ण क्षमतामा सञ्चालन गरिने छ ।’विमानस्थललाई पूर्णता दिन आफूले काम थालिसकेको उनले बताए । ‘सुरुमा जजिरा एयरलायन्सले मात्रै उडान भरिरहेको थियो,’ उनले भने, ‘एउटा उडानले विमानस्थल चल्दैन भनेर सरकारले अन्य विमान कम्पनीलाई भैरहवाबाट उडान गराउन लगाएको छ ।

यसले निरन्तरता पाउँछ ।’ खाँणको पहलमा गौतम बुद्ध विमानस्थलबाट अहिले हिमालय एयरलाइन्सले चार्टर्ड उडान सुरु गरेको छ । हिमालयले विभिन्न मुलुकका लागि यहाँबाट दैनिक उडान गर्न थालेपछि यात्रुलाई सहज भएको छ । दुई दिन अघि नेपाल एयरलाइन्सले समेत परीक्षण उडान गरेको छ । केही दिनमा नेपाल एयरसाइन्सले नियमित उडान भर्ने जनाएको छ ।

‘उडानको संख्यासँगै निर्वाचनपछि विमानस्थलका बाँकी काम अगाडि बढाइनेछ,’ खाँणले भने, ‘अत्याधुनिक नयाँ टर्मिनल निर्माण सुरु हुनेछ ।’ उडान सँख्या बृद्धिसँगैं विमानस्थलमा रोजगारी सिर्जना हुने भएकाले त्यसमा स्थानीयलाई प्राथमिकता दिने बताएका छन् । ‘विमानस्थल निर्माणका क्रममा धेरै स्थानीयको जग्गा अधिग्रहण गरिएको छ,’ गृहमन्त्री खाँणले भने, ‘जग्गा गुमाएका स्थानीयले विमानस्थलमा काम पाउनु हुनेछ ।

त्यसको सुरुवात भइसकेको छ ।’ ०७४ सालमा समानुपातिकबाट सांसद निर्वाचित भएका खाँणले पाँच वर्ष रुपन्देही–३, अन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा बिताएका थिए । पाँच वर्ष स्थानीयका आवश्यकता पूर्ति र विकास निर्माणका खटिएको उनले बताए । ‘अहिले धेरै स्थानीयले विमानस्थला रोजगारी गरिरहनु भएको छ,’ उनले भने, ‘आगामी दिनमा विमानस्थलमा सेवा थपिँदैं जान्छन् ।

रोजगारी पनि बढ्दै जान्छ ।’ अन्तराष्ट्रिय विमानस्थल सञ्चालनपछि लुम्बिनी प्रदेशकै पर्यटनले फड्को मार्ने भएकाले रुपन्देहीमा रहेको बेलहिया नाकालाई व्यवस्थित गरिने खाँणले बताएका छन् । भैरहवामा पर्यटन व्यवसायीद्वारा आयोजित कार्यक्रममा नाकालाई आधुनिक र सुरक्षित तुल्याइने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?