काँग्रेस बैठकः के–के भए निर्णय ?

काठमाडौं–कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ ।
सभापति  शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न बैठकले  मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने भनिएको महासमिति बैठक आगामी मंसिर २८ देखि पुस ३ सम्म गर्ने निर्णय गरेको छ ।

यस्तै विजयकुमार गच्छदारलाई  उपसभापति पदमा मनोनयन गर्ने निर्णय हुनुका साथै सांगठनिक संरचनामा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका पार्टीगत संरचना एवं भ्रातृ एवं शुभेच्छुक संघ संस्थाको समायोजन सम्बन्धि आवश्यक कार्य गरी केन्द्रीय कार्यसमितिको बैठकमा प्रतिवेदन पेश गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गरिएको छ ।
समितिले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रतिवेदन पेश गर्नेछ ।

यसैगरी चितवनकोभरतपुर स्थित वीपी कोइराला क्यान्सर अस्पतालको नाममा रहेको जग्गामा व्यापारिक मल र सभागृह वनाउने तयारी गरिएको कुरा प्रति पार्टीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । निर्णयमा भनिएको छ, ‘अस्पतालको जग्गा कुनै पनि निकाय वा तहले अन्य प्रयोजनको लागि प्रयोग गर्ने गराउने कार्य गलत भएको ठहर गर्दै त्यस्तो कार्य अविलम्व रोक्न नेपाली कांग्रेस सम्बन्धित पक्षलाई सचेत गराउँदछ ।’  

बैठकले सर्लाहीको रामनगर गाउँपालिका वडा नं ४ का आफ्ना  कार्यकर्ता रामविलास महतो हत्यारालाई कारबाहीको माग गर्दै सहीद घोषणा गर्न पनि माग गरेको छ  ।
यस्तै केन्द्रीय लेखा परिक्षण समितिको संयोजकमा श्यामकुमार घिमिरेलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?