काठमाडौं–प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सिआईएसँग साँठगाँठ रहेको आरोप लगाएका छन् ।
उनले भने,‘ललितपुरको भैसेंपाटीमा उनको सयन कक्ष छ । उहाँको त्यो कार्यालय द एशिया फाउण्डेशनको फण्डिङमा फर्निसिङ गरिएको छ । त्यही भैंसेपाटीको घरमा उहाँले रसगुल्ला र रसपान गर्नुहुन्छ भन्छन् । तर, त्यो रसगुल्ला र रसपान के हो ? मलाई थाहा छैन् । त्यो अफिसको सबै स्टाफ र फर्निचरको फण्डिङ द एशिया फाउण्डेशनले गरेको छ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार स्थापितले प्रदेश नम्बर ३ को अवधारणापत्र बनाउनको लागि पनि मुख्यमन्त्री पौडेलले ‘द एशिया फाउण्डेशन’ को आर्थिक सहयोग लिएको आरोप लगाए ।
उनले भने,‘यत्रो पैसा लिनुभन्दा पहिले केन्द्र सरकारको अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट स्विकृति लिनुपर्दैन् ? यो विषय मन्त्रालयमा छलफल भएको छैन् । मुख्यमन्त्रीले अहिले प्रदेश नम्बर ३ को योजना आयोगको शाखा कार्यालय त्यही भैंसेपाटीको घरलाई बनाएका छन् ।’ यो विषयलाई आफूहरुले अब संसद खुल्नेबित्तिकै जोडदारसँग राख्ने पनि उनले जानकारी दिए ।
स्थापितले मुख्यमन्त्रीले आफूलाई विभिन्न पार्टी डुलेर आएको कारणले कारबाही गरेको भनेको प्रसंग कोट्याए । उनले थपे,‘स्वयम् अहिलेको प्रधानमन्त्रीले मलाई मेरो खुट्टा भाँच्चिएको दिनमा डाकेर केशब तिम्रो र मेरो आन्द्रा गाँसिएको छ । तिम्रो मनको सपनाको एक प्रतिशत पनि दियौं भने यो मुलुक बन्छ भनेर म गएको हुँ । यो पूरानो ईस्यु हो । यसको कुनै सान्दर्भिकता छैन् ।’
मुख्यमन्त्री पौडेलविरुद्ध खनिएका उनले भने,‘सफलता र असफलताको कुरा उठाउने ? उहाँ हेटौंडाको १० वर्ष मेयर भएको मान्छे होईन, त्यहाँ सहिद पार्कबाहेक अरु के छ ? की त त्यहाँ ठींग्ग उभिने रुख छ । अशोकको बृक्ष । त्यो पनि साईनबोर्ड टाँस्नलाई राखेको जस्तो छ ।’
आफूले मुख्यमन्त्री पौडेललाई ईमानका साथ बोकेको पनि उनले स्पष्ट पारे । उनले भने,‘हाम्रोमा पार्टीभित्र गुट छ । मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हो । सभामुखमा पनि दाबी गरेको हो । अहिलेको डोरमणिको दाबी थिएन् । बरु अष्टलक्ष्मीको दाबी थियो । उहाँकहाँ गएर मलाई पूर्वाधार मन्त्री बनाउनु भनेर पौडेल हिँडेको हो । उहाँको हैसियत नै त्यही हो । त्यसपछि पार्टीभित्र चलखेल भएपछि भोटिङमा २४ र ३४ भयो । हामी सबै उपत्याकाले बोकेको र भोट हालेको कारण हेटौंडाको एउटा कुनामा बसेको मान्छे मुख्यमन्त्री भयो । तर, आज दम्भ देखाउने ? अहिले भर्खरै एउटा पत्रिकामा व्यंग्य आएको थियो । श्रीपेचको चोरी भनेर । यदि त्यो श्रीपेच चोरी भयो भने मेरो मुख्यमन्त्रीलाई लाईदिए भयो । अरे बाबा सर्वेसर्वा हुन्छ त ? संसद छैन । संविधानले व्यवस्था गरेको कुरालाई नाघेर हिँड्न पाईन्छ ?’
उनले मुख्यमन्त्री पौडेलले सिआईको पैसा लिएर जिल्ला–जिल्ला र क्षेत्र–क्षेत्रमा गएर कार्यक्रम सञ्चालन गरेको पनि गम्भिर आरोप लगाए ।
उनले आफूले जीवनमा कहिल्यैपनि कसैको दुव्र्यवहार नसहेको र नगरेको पनि स्पष्ट पारे । उनले भने,‘मुख्यमन्त्रीले मसँग बोल्दा टेबुल ठट्टाएपछि मैले पनि ठट्टाएको हुँ । मैले अनियमितता गरें भनेर आरोप लगाउनुभएको छ । ती आरोपहरु प्रमाणित हुनुपर्छ । उहाँले राजधानी सार्ने कुरामा पनि गलत अभिव्यक्ति दिनुभएको छ । प्रदेशको अधिकारविरुद्ध बोल्नुभएको छ । प्रदेश सभाको विषयलाई निजी विषय बनाउन मिल्छ ?’
मुख्यमन्त्रीले आफूलाई जिल्ला–जिल्ला किन घुमिस् भनेर प्रश्न सोधेको पनि उनले जनाए । स्थापितले भने,‘म त जिल्ला जिल्ला घुमिरहेकै छु, मन्त्रालयका योजनाहरुको अनुगमन गरिरहेको छु । कार्यालयहरु क्रियाशिल भएका छन् कि छैनन् भनेर पनि अनुगमन गरिरहेको छु । तर, उहाँले म जिल्ला जिल्ला घुमेर उहाँलाई मुख्यमन्त्रीबाट अपदस्थ गर्न लागेको भनेर आरोप लगाउनुभयो ।’
आफूले सम्हालेको मन्त्रालयको काम रफ्तारमा गरेको पनि उनले विश्वास दिलाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया