समुदाय–प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ : आईजीपी खनाल

मुस्ताङ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत् सबै तहका नागरिक समुदायसँग सहकार्य गरी विकासका गतिविधिलाई सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको बताएका छन् ।    

जिल्ला प्रहरी कार्यालय मुस्ताङको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् । 

 नवनिर्मित कार्यालय भवनको उदघाटन पश्चात प्रहरी महानिरीक्षक खनालले कार्यालय भवनको निरीक्षण समेत गरे । 

समुदाय–प्रहरी साझेदारी अन्तर्गतको सहकार्यमा सुरक्षा लगायतका विभिन्न जनचेतनामूलक कार्यहरु मार्फत् शान्तिसुरक्षा कायम गरी सुरक्षित समाजको निर्माण गरी विकासका गतिविधिमा समेत सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्यलाई सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको प्रहरी महानिरीक्षक खनालले उल्लेख गरे । 

प्रहरी महानिरीक्षक खनालले मुस्ताङमा पर्यटकीय स्थलहरु एवम् यातायातको विकास र विस्तारसँगै हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई संवेदनशील र गम्भीरतापूर्वक मनन गरी आगामी दिनमा रणनीतिक योजना बनाई काम गरिने बताए । 

 सुरक्षा सचेतना, अपराध नियन्त्रण र शान्तिपूर्ण समाज निर्माणका लागि निर्दिष्ट यस योजनामा अन्य सुरक्षा निकाय एवम् सरोकारवाला पक्षबाट आवश्यक सहयोग प्राप्त हुनेछ भन्ने विश्वास उनले व्यक्त गरे । 

आचरण विपरितका कार्यमा प्रहरी संगठन शुन्य सहनशीलताको नीति अवलम्बन गरेकोले सोही अनुरुप प्रहरी कर्मचारीहरुले काम गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले भने, ‘प्रहरी राम्रो मात्रै काम गर्नका लागि हो, नराम्रो गर्ने छुट कसैलाई छैन ।’

 समाजमा हुने खराब क्रियाकलाप, गुण्डागर्दी लगायतका गलत कामका विरुद्ध प्रहरी कठोर रुपमा प्रस्तुत भई कार्य गर्ने उनले उल्लेख गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?