अन्तरदेशीय संगठित अपराध नियन्त्रण विषयमा छलफल गर्न प्रहरी महानिरीक्षक कतार प्रस्थान

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कतारको राजधानी दोहामा आयोजना हुने सुरक्षा समन्वयसम्बन्धि कार्यक्रममा सहभागी हुन सोमबार राति त्यसतर्फ प्रस्थान गरेका छन् । 

नेपाल सरकार गृह मन्त्रालय, नेपाल प्रहरी र जनरल डारेक्ट्री अफ पब्लिक सेक्युरिटी कतारबीच  सुरक्षा समन्वयसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन महानिरीक्षक खनाल त्यसतर्फ प्रस्थान गरेका हुन् । 

त्यस कार्यक्रममा प्रतिआतंकवाद र आतंककारी क्रियाकलापमा वित्तीय लगानी, अन्तरदेशीय अपराध, लागूआंषधको अवैध कारोबार, अवैध हातहतियार तथा विष्फोटक पदार्थको ओसारपसार, विद्युतीय (साइबर क्राइम) अपराध, मानव बेचबिखन, वित्तिय अपराध तथा अन्य अन्तराष्ट्रिय अपराध नियन्त्रणको विषयमा छलफल हुनेछ । 

त्यस्तै विश्वका लागि नै चूनौतिपूर्ण बन्दै गएका संगठित अपराध नियन्त्रण गर्न दुई पक्षबीच सम्झौता हुने कार्यक्रम रहेको छ ।  

सो सम्झौता अन्तर्गत अपराध नियन्त्रण गर्ने प्रविधि तथा अपराध अनुसन्धानका प्रक्रिया र अनुभव आदान प्रदान गर्ने, छिमेकी देशका प्रहरीहरुबीच खोज अनुसन्धान तथा सूचना प्रकाशनको आदान प्रदान गर्ने, उपलब्ध स्रोत साधनलाई अपराध अनुसन्धानको क्षेत्रमा प्राविधिक तथा वैज्ञाानिक बनाउने तयारी भइरहेको छ । 

प्रहरी महानिरीक्षक खनालले आफ्नो अनुपस्थितिमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?