दसैँमा खानयोग्य खसी–बोका कसरी छान्ने ?

लोकपथ
130
Shares

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड विजया दशमी अर्थात बडा दसैँलाई सद्भावको चाडका रुपमा लिइन्छ । साथै यो चाड माछा मासुसँग पनि जोडिएको छ ।

वर्षभरी मासु खान नसक्नेहरु पनि दसैँमा एकदुई छाक ऋण गरेरै भएपनि मासु खाने चलन छ । अझै मध्यम र सम्भ्रान्त वर्गका मानिसहरु घरमा सिँगो खसी, बोका मार हान्छन् ।

साथै, कतिपयले दसैँलाई विजयी उत्सवकोरुपमा मान्ने प्रचलन रहेकाले पनि घरमा राक्षसी प्रवृतिको अन्त्यका लागि देवीदेवतालाई बलि चढाउने र मासुलाई प्रसादका रुपमा खाने चलन रहँदै आएको छ । तर, पछिल्लोसमय मासुलाई प्रसादका रुपमा नभई आर्थिकरुपमा बलियो हुने समुदायमा विभिन्न परिकार बनाएर खाने तथा पाउनालाई पस्कने (खुवाउने) प्रचलन सुरु भएको छ । अन्य समयमा भन्दा दसैँको समयमा खसी–बोकालगायतका पशुको मासु बढि उपभोग हुने गरेको छ ।

तर, दसैँका बेला खसी, बोका छान्न नजान्दा भने पछुताउनु पर्ने अवस्था पनि सिर्जना हुन सक्छ । साथै, अस्वस्थ्य खसी–बोकाको मासु सेवन गर्दा मानव स्वास्थ्यमा पनि गम्भीर समस्या निम्तिन सक्छ ।

कस्तो खसी बोका छान्ने त ?

खसी–बोका खरिद गर्दा त्यसको अवस्था हेरेर किन्नुपर्ने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता रमेश ढकाल बताउँछन् । उनका अनुसार फुर्तिलो खसी, बोका छैन भने त्यो किन्नु हुँदैन । त्यस्तै, आँखा तेजिलो भए–नभएको हेर्नुका साथै आँखाबाट कचेरा लागेका खसी–बोका पनि खान योग्य हुँदैन । कतिपय खसी बोकाको नाकबाट सिँगान बगिरहेको हुन्छ । तिनीहरुमा केही न केही रोग लागेको हुन्छ । त्यसैले त्यस्ता खसी बोका पनि नकिन्न उनको सुझाव छ ।

कानबाट पिप बगेको, खोकी लागेको, मुखमा र्‍याल र अति सुख्खा देखिएको, पातलो दिसा गरेको, शरीरमा किर्ना तथा उपियाँ भएको, शरीरमा चोटपटक लागेको, शरीरमा मासु पलाएको तथा रगत बगेको, रौं ठाडो पारेको, घ्यार–घ्यार गर्ने तथा रौं फुस्रो भएको, झोक्राएको र दाना, घाँस तथा पानी राम्रोसँग नखाने खसी–बोका खरिद गर्नु भनेको आफ्नो लागि रोग किनेको जस्तै हुने ढकाल बताउँछन् ।

साथै, ग्रामीण क्षेत्रमा हुर्किएका खसी–बोका किन्न उनको सुझाव छ । ‘भारतबाट आयात गरेर ल्याइएका र तराई क्षेत्रमा हुर्काइएका खसी–बोकालाई छिटो हुर्काउन विभिन्न भिटामिन र सुई दिने गरेको पनि पाइएकाले त्यस्ता खरिद गर्नु हुँदैन,’ उनले भने ।

त्यस्तै, स्थानीय स्तरमा चरन क्षेत्रमा चरेका, ग्रामीण भेगको दाना खाएका खसी–बोकाको मासु स्वस्थ्य र खान पनि स्वादिलो हुने पशुपालक कृषक गोपाल भट्टराईले बताए । उनले समय समयमा जुका तथा माटेलगायतका रोगविरुद्धको औषधि खाएका खसी–बोका आफैँमा स्वस्थ्य हुने भएकाले तिनको मासु खान मिल्ने बताए । ‘एक वर्ष नाघेका तीन वर्ष नकटेका ३० किलो तौलभन्दा माथिका खसी–बोकाको मासु खान योग्य हुन्छ,’ उनले भने, ‘खानयोग्य र अयोग्य खसी–बोका हेरेर र ल्याब परीक्षण समेत गरिन्छ ।’

यता, पशु सेवा विभागले पनि दसैँ लक्षित स्वस्थ्य खसी–बोका परीक्षण गर्ने गर्दछ । विभागले खसी–बोका परीक्षण गरि खानयोग्यको सिङमा हरियो चिन्ह तथा खान अयोग्यको सिङमा रातो निशान लगाएको हुन्छ । बजारमा जिउँदो खसी–बोका खरिद गर्दा हरियो निशानसमेत हेर्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?