म्याग्दीमा अनौठो शिवमूर्ति भेटियो

बेनी : म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँस्थित तल्लो नुनथला जंगलको बीच भएर बग्ने छहरा खोलामा अनौठो शिवमूर्ति फेला परेको छ । 

घना जंगलको बीचमा, खोलको किनारमा रहेको ओढारमा फेला परेको सो शिवमूर्तिमा पहराबाट पानी रसाएर प्रत्येक ३२ सेकेण्डमा अभिषेक हुने गरेको स्थानीयको दाबी छ ।

घाँस दाउरा गर्ने क्रममा स्थानीय कालीमाया राम्जाली र पञ्चबहादुर राम्जालीले ओढारको पहरामा शिव आकृतिको मूर्ति, नाग, गणेश र पाञ्चायन देवताको मूर्ति देखेपछि गाउँलेलाई खबर गरेका थिए । 

पहराको विशाल पत्थरमा प्राकृतिकरुपमा नै बनेको शिवमूर्तिमा नागदेवताको आकृतिसमेत रहेको छ । त्यसको दाहिनेतर्फ भगवान् गणेश आकृति र अन्य विभिन्न देवी देवताका आकृति रहेका छन् । 

गाउँको सिरानमा, जंगलको बीचमा रहेको यस स्थानको प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारको निर्माण गर्नसक्ने हो भने यो स्थान आकर्षक धार्मिक एवं पर्यटकीय स्थान बन्न सक्ने दीपशिखा मावि कुहूँका पूर्व प्रधानाध्यापक एवं स्थानीय वुद्धिजीवी भद्रबहादुर जिसीले बताए। “नाग र शिवको मूर्ति रहेका थाहा पाएपछि स्थानीयले पूजाआजा गर्ने र रेखदेख गर्ने गरेका छन्” जिसीले भने “अहिले स्थानीयको पहलमा सामान्य संरक्षणको काम भएको छ, अब यसलाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्ने आवश्यकता छ ।” 

अहिले सो स्थानमा स्थानीयले कलश, डमरु र घण्ट लगेर चढाएका छन् । स्थानीयले अबीर, केशरी र अन्य रङले पूजा गर्दा मूर्तिमा रहेका आकृति स्पष्टरुपमा देख्न नसकिने भएको रोकाले बताए। 

मूर्ति अवलोकन र पूजाका लागि स्थानीय भक्तजन आउने क्रम बढ्न थालेपछि पाइपमार्फत पानी ल्याएर खानेपानीको सुविधा पु-याइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?