साउनमा १४२ मानव अधिकार उल्लङ्घनका घटना

लोकपथ
39
Shares

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना भएका जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लङ्घनका घटना भएका हुन् ।

इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र अन्य पक्षबाट १३८ पीडित भएका जनाएको छ । त्यसमध्ये प्रदेश नं १ मा २५, प्रदेश नं २ मा ४९, लुम्बिनी प्रदेशमा १९, गण्डकी प्रदेशमा १७, कर्णाली प्रदेशमा १५, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा छ/छ जना पीडित भएका छन् ।

साउनमा पत्नी हत्याका नौ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको एक, हिरासतमा मृत्युका दुई, एक मानव अधिकार रक्षकसहित नौ जनालाई कुटपिट गरिएको, जातीय विभेदका घटना तीन, पुरुषलाई गरिएको यौन दुर्व्यहारको घटनामा एक र १५ घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

तीमध्ये बाल अधिकार उल्लङ्घनका घटना ५१ भएको प्रवितेदनमा छ । अभिलेखित घटनामध्ये बलात्कार ३९, यौन दुर्व्यहार १०, बेचबिखन एक र बेचबिखन प्रयासको घटना एक भएको इन्सेकले जनाएको छ ।

यस्तै महिला अधिकार उल्लङ्घनका घटना ३९ भएको अध्ययनले देखाएको छ । बलात्कारका घटना २०, बलात्कार प्रयास पाँच, यौन दुर्व्यहार तीन, जबर्जस्ती यौन कार्यमा लगाइएको एक, एसिड प्रहार एक, ‘बोक्सी’ आरोप एक र घरेलु हिंसा तीन भएको इन्सेकको उक्त प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?