तालिबानको उदयसँगै अस्ताउँदै छ महिलाका अधिकारहरू

लोकपथ
104
Shares

अफगानिस्तानमा तालिबानको हालै भएको पुनः उदयले अहिले विश्वलाई नै सशङ्कित बनाइरहेको छ । अफगानिस्तानमा भएको तालिबानको पछिल्लो उदय राजनीतिक विषय मात्र नभएर यसले निम्त्याउने आतङ्कवाद र मानवअधिकारका विभिन्न विषयहरूमा अहिलेदेखि नै चिन्ता सुरु हुन थालेको छ ।

तालिबान आफैँमा जति कट्टरवादी समूह मानिन्छ, उनीहरू महिलाहरूको हक अधिकारको क्षेत्रमा अति नै अनुदारवादी रहेको पहिलादेखि नै प्रमाणित गर्दै आइरहेका छन् । त्यसैले अफगानिस्तानमा तालिबानको शक्ति जति जति बढ्दै जान्छ त्यत्ति नै महिलाहरूले आफ्ना हक अधिकारहरूलाई कुण्ठित गर्दै लैजानुपर्ने बाध्यता देखापर्ने हुन्छ । यस पटक तालिबानहरू सत्तामा आएपछि महिला प्रति उनीहरूको दृष्टिकोणमा विगतको भन्दा केही नरमपन देखाउने कोसिस गरे पनि यसलाई उनीहरूले चालेको लोकप्रियताको तुरूप मात्र मानिएको छ ।

हालै अफगानिस्तानको सत्ता कब्जा गरेपछिको पहिलो पत्रकार सम्मेलनमै तालिबानका नेताले महिलाहरूलाई सरिया कानुनअनुसारका हक अधिकार दिने, जसमा अफगान महिलाहरू कुनै निश्चित स्थानमा काम गर्न पाउने र उच्च शिक्षा हासिल गर्न पाउनेछन् भनिएको थियो ।

तालिबानले आफ्नो पहिलो पत्रकार सम्मेलनमा यो कुरा भने पनि यसलाई तालिबानको चाल मानिएको छ । किनकि तालिबानले महिलाप्रति राखेको नीति पहिलेकै जस्तै हुने बताइरहेका छन् । तालिबान यस पटक सत्तामा आउनुभन्दा पहिला पनि विभिन्न स्थानमा उनीहरूले महिलाहरूप्रति राखेको नीतिका कारण महिलाहरूको जीवनमा के–कस्तो किसिमको परिवर्तनहरू आए भन्ने कुरा प्रस्ट पारेको छ ।

तालिबानहरू अहिले सत्तामा आउनुभन्दा अगाडि अफगानिस्तानका विभिन्न सीमा क्षेत्रमा आफ्नो समूहमा रहेर काम गरिरहेका थिए । त्यो बेलामा तालिबानका संस्कृति विभाग हेर्ने व्यक्तिले आफ्ना धर्मगुरु (मौलवियों) मार्फत १५ वर्षभन्दा माथि र ४५ भन्दा कम उमेरका विधवाहरूको नामावली सङ्कलन गरेको थियो । यसरी नाम सङ्कलन गरेका महिलाहरूलाई तालिबानसँग विवाह गरेर उनीहरूलाई पाकिस्तानको बजिरिस्तान लैजाने गरिएको थियो ।

मौलवियोंको यो आदेशअनुसार गैरमुस्लिम महिलाहरूलाई विवाह गरेर धर्मान्तर गरेर मुस्लिम बनाई आफ्नो सैन्य क्षमता बढाउने काम समेत भएको थियो ।

पछिल्लो पटक तालिबानले अफगानिस्तानको सरकार कब्जा गरेको भोलिपल्टदेखि नै त्यहाँका महिलाहरू बुर्का र हिजावमा देखिन थाले । सडकमा महिलाहरूको आवागमनमा कमी आयो । महिलाले बुर्का लगाउनुपर्ने अनिवार्यता रहेको सीएनएन टेलिभिजनकी वरिष्ठ सम्वाददाता नै देखापरिन् । तालिबान आउनुभन्दा अघिल्लो दिन सीएनएनमा समाचार सम्प्रेषण गर्दा सामान्य पोसाकमा देखिएकी क्लेरिसा वार्ड तालिबानको उदयपछिको समाचार सम्प्रेषण गर्दा बुर्कामा आएकी थिइन् ।

तालिबानको उदय भएपछि महिलाहरू आफूलाई सुरक्षित बनाउने प्रयासमा अफगानिस्तान छोड्न विमानस्थल पुगेका थिए । महिलाहरूलाई नियन्त्रण गर्न तालिबानले गोली चलाउँदा हिजाव समेत नलगाएका महिलाहरूको मात्र मृत्यु भएको थियो ।

तालिबानको उदय भएपछि अफगानिस्तानको पहिलो महिला गभर्नर सलीमा मजारीलाई हालै पक्राउ गरिएको छ । पछिल्लो समय तालिबानविरुद्ध कडा रूपमा प्रस्तुत भएकी मजारीको अवस्था के–कस्तो छ भन्ने विषयमा तालिबान नै मौन रहेको छ ।

अफगानिस्तानमा तालिबानको उदय भएपछि काबुलका सडकहरूमा राखिएका विज्ञापनमा प्रयोग गरिएका महिलाका पोस्टरहरू हटाउन र कालो पोत्न थालिएको छ । पसलहरूमा पनि राखिएको महिलाका पोस्टरहरूलाई समेत हटाउन पसलेहरूलाई उर्दी जारी गरिएको छ ।

काबुल कब्जा गरेको दिन तालिबानले विभिन्न अफिसहरूमा गएर महिला कर्मचारीहरूलाई तिमीहरू घरमै बस्नु तिमीहरूका श्रीमानलाई काममा पठाउनु भन्ने उर्दी जारी गरे । सरकार नियन्त्रण रहेका सञ्चार माध्यममा पनि महिला कर्मचारीहरूको व्यापक कटौती गरेर पुरुष कर्मचारीहरूलाई मात्र काम दिन थालिएको छ । टेलिभिजनहरूले गर्दै आएको विदेशी कार्यक्रमहरूमा समेत रोक लगाइएको छ ।

तालिबानले महिलाहरू पढ्ने विद्यालयहरू बन्द गर्न थालेको छ जसको कारण २० लाख बालिकाहरू शिक्षाबाट वञ्चित हुने देखिएको छ । यस्तै महिलाहरूलाई विभिन्न सम्मेलनमा जान प्रतिबन्ध लगाइँदै छ । यदि महिलाहरूलाई अफगानिस्तानमा बाँच्नु छ भने उनीहरूले सरिया कानुनअनुसार आफूलाई चलाउनुपर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?