ओलीका ‘ट्रोयका’

ति तीन जना जो प्रधानमन्त्री ओलीका निकट छन्

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ३ जना उपप्रधानमन्त्रीसहित २५ जनाको मन्त्रिपरिषद् छ । अर्थात् प्रधानमन्त्री ओलीलाई अहिले सरकारका विषयमा सल्लाह लिन उनीबाहेक २४ जना छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा ओलीको सचिवालयमा ७ जनाको नाम छ । ओलीको मुख्य सल्लाहकारमा विष्णु रिमाल, विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड, परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई,  प्रेस सल्लाहकारमा सूर्य थापा, प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी, स्वकीय सचिव राजेश बज्राचार्य, आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे छन् ।

पार्टी पंक्तिबाट गुनासा आएको भन्दै ओलीले २०७६ कात्तिकमा सचिवालयका कर्मचारी हेरफेर गरेका थिए । तर कतिपयले पछि पुनर्नियुक्ति पाए । कतिले पाएनन् । यद्यपि प्रधानमन्त्री ओलीले पार्टी संचालनमा सिमित नेता र मन्त्रीहरुसँग सल्लाह लिने गरेका छन् । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा प्रधानमन्त्री ओलीले जरुरी कामका विषयमा सचिवालयमा छलफल गर्ने गरेको बताउँछन् । “जुन उदेश्यका लागि प्रधानमन्त्रीले सचिवालयको गठन गर्नुभएको छ,त्यसमा उहाँले सम्बन्धित विषयमा सम्बन्धित व्यक्तिसँग नसोध्ने कुरै भएन” थापा भन्छन् ।

एक एमाले नेताका अनुसार प्रधानमन्त्री ओलीले महत्वपूर्ण सूचना र जानकारीबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गर्छन् । ती नेताका अनुसार प्रधानमन्त्रीले केही राजनीतिक विषय आएमा तत्काल राष्ट्रपतिसँग छलफल गरिहाल्छन् । अर्का एक नेताका अनुसार एमालेमा आन्तरिक कलह चर्किनु अघि ओलीले माधव नेपाल र झलनाथ खनालसँग पनि समस्या आउँदा छलफल गर्थे तर अहिले त्यो अवस्था छैन् । ती नेता भन्छन्,“प्रधानमन्त्रीले सबैका कुरा सुन्छन् तर निर्णय भने कसैले नपत्याउने गरी गरिदिन्छन् ।” यसको अर्थ ओली धेरै निर्णयहरु कसैका पनि कुरा नसुनी गर्छन् ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीपछि एमालेमा ओलीले अहिले राजनीतिक लगायतका सल्लाह लिनुपर्दा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङ र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलसँग छलफल गर्छन् ।

यस अघि महासचिव ईश्वर पोखरेल, डा. युवराज खतिवडा, गोकुल बास्कोटा, प्रदिप ज्ञवाली लगायतसँग पनि प्रधानमन्त्रीले सल्लाह लिने गर्थे ।

पछिल्लो समय उपप्रधानमन्त्री पौडेलसँग ओली अलि नजिक रहेका छन् । किनकि पौडेलको भारतसँग रहेको निकटताबारे ओलीलाई जानकारी नहुने कुरै भएन । मुख्य सल्लाहकार रिमालसँग त ओलीले छलफल गर्ने नै भए । पौडेल र रिमालपछि ओलीले रुचाएका मान्छे हुन् नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल । त्यसमा पनि सबैभन्दा विश्वासिला पात्र ओलीका मुख्यमन्त्री पोखरेल रहेका छन् । ओलीले उनीहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर सल्लाह लिने गर्छन् ।

ओलीले दुबै पटक गरेको प्रतिनिधि सभा विघटनको कदमलाई पोखरेलले डटेरै प्रतिरक्षा गर्ने गरेका छन् । त्यसैगरी पार्टीमा सैद्धान्तिक बहसमा पनि पोखरेललाई ओलीले मनपराउँछन् । ओलीले पोखरेललाई एमालेको भावी अध्यक्षका रुपमा लिएका छन् । एमालेमा आन्तरिक कलह चर्किरहेका बेला पोखरेल ओलीको पक्षमा लागेर पार्टीलाई एकजुट बनाउने पक्षमा पनि लागिरहेका छन् । केहीगरी पार्टीमा राजनीतिक उतार चढाव आयो र ओली अध्यक्ष बन्ने स्थिति बनेन भने पोखरेललाई अघि सार्ने योजना ओलीको छ । ओलीले यसको संकेत पार्टीमा दिइसकेका छन् ।

त्यसैगरी ओलीले नेम्वाङसँग पनि महत्वपूर्ण विषयमा छलफल गर्ने गरेका छन् । एमालेको आन्तरिक कलह उत्कर्षमा पुगिरहेका बेला त्यसलाई मत्थर पार्न नेम्वाङ नेपाल–खनाल पक्षका नेताहरुसँग पनि छलफल गरिरहेका छन् । ओलीलाई भित्रि रुपमा कानूनी लगायत अरु विषयमा पनि नेम्वाङले सहयोग गर्ने गरिरहेका छन् । त्यस्तै परिस्थिति आए भविष्यमा नेम्वाङलाई ओलीले प्रधानमन्त्रीको रुपमा पनि अघि सार्न सक्ने एक नेता बताउँछन् ।पौडेल,पोखरेल र नेम्वाङ ओलीका पछिल्ला ट्रोयका हुन,जसलाई उनले अरुभन्दा बढी सुन्छन् ।
त्यसपछि ओलीले पे्रस सल्लाहकार थापा, विशेष आर्थिक सल्लाहकार दुगड, परराष्ट्र सल्लाहकार भट्टराईसँग पनि सल्लाह लिने गर्छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव बज्राचार्यले लामो समयदेखि ओलीको रेखदेख गर्दे आएका छन् । स्रोतका अनुसार मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीलाई समयमै औषधी खुवाउनेदेखि उनको हेरचाहमा बज्राचार्यको भूमिका छ । बिगतमा ओलीसँगै धेरै निकट मानिएका महासचिव पोखरेल र ज्ञवालीसँग प्रधानमन्त्रीको खासै छलफल हुँदैन् । तर पोखरेल महासचिव र ज्ञवाली पार्टीको प्रवक्ता भएकाले पार्टीको विषय आउँदा मात्रै छलफल गर्ने गरेका छन् ओलीले ।

यसकारण बाहिरिए पोखरेल र ज्ञवाली

ईश्वर पोखरेललाई ओलीले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री बनाए । तर उनले प्रभावकारी काम गर्न सकेनन् । पोखरेल रक्षामन्त्री रहँदा उनको विषयमा नेपाली सेनाले पनि उनको कार्यशैलीलाई लिएर असन्तुष्टि जनायो । त्यसपछि ओलीले पोखरेललाई प्रधानमन्त्री तथा  मन्त्रिपरिषद् कार्यलय हेर्नेगरी जिम्मा दिए । एमाले स्रोतका अनुसार पोखरेलले त्यहाँ बसेर पनि सबै मन्त्रालयसँग समन्वयकारी भूमिका निर्वाह गर्न त सकेनन् नै आफू निकट र आफन्तलाई नियुक्ति,सरुवा बढुवा लगायतमा भाग खोज्न थालेपछि ओली उनीसँग चिढिए । यसैले प्रधानमन्त्री ओलीले पोखरेललाई मन्त्री पदबाट हटाए । यद्यपि पोखरेलको राष्ट्रपति भण्डारीसँग राम्रो सम्बन्ध भएका कारण उनलाई ओलीले धेरै टाढा भने राखेका छैनन् ।

यस्तै कुनैबेला ओलीका विश्वास पात्र मध्ये पनि अति विश्वासिला रहेका प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री बने । ज्ञवाली एमालेमा भद्र नेतामा पर्छन । तर उनलाई भद्र र कसैलाई चित्त नदुखाउने बानीले नै अप्ठ्यारो पार्यो । परराष्ट्रमन्त्री बन्दा खासै प्रभावकारी काम गरेको भन्ने रेकर्ड नभएपनि उनलाई ओलीले नचाहँदा नचाहँदै पनि परराष्ट्रमन्त्रीबाट हटाउन बाध्य भए । ओलीको प्रतिनिधि सभा बिघटन लगायत पार्टीको आन्तरिक कलहमा ओलीको कदमलाई डटेर प्रतिरक्षा गर्न नसक्दा ज्ञवाली मन्त्रीबाट चिप्लिएनन् मात्रै ओलीले पहिलेभन्दा अहिले कम मात्रै छलफल गर्छन् उनीसँग ।

एमाले बिग्रहतिर गइरहेका बेला ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

लेखकबाट थप

व्यवस्था फेरियो, अवस्था फेरिएन

त्यो कालो शुक्रवार : बिलियार्ड हलमा राजा वीरेन्द्रको वंशनाश

जसपाभित्रको दुई धार : पहिले छाँया अहिले घाम

एमालेमा ओली रणनीति : अप्ठ्यारोमा एकताको कुरा, सहज हुँदा कारबाही

एमाले विवादको फाइदा कांग्रेसलाई : कर्णाली प्रदेशबाट सत्तारोहण शुरु

महन्थलाई मुस्किल छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?