संवैधानिक बाध्यतामा कांग्रेस : तर विवाद बाँकी नै

कांग्रेस १४ औं महाधिवेशन

नेपाली कांग्रेसको चौधौँ महाधिवेशन विभिन्न कारणले पर धकेलिँदै आएको छ । कांग्रेस विधान अनुसार प्रत्येक ४ वर्षमा महाधिवेशन हुनुपर्छ ।

कांग्रेसको १३ औँ महाधिवेशन २०७२ फागुन तेस्रो साता काठमाडौंमा सम्पन्न भएको थियो । यस हिसावले कांग्रेसको १४ औँ महाधिवेशन २०७६ फागुनमा सम्पन्न भैसक्नु पर्ने थियो । तर त्यतिबेला महाधिवेशन हुन नसकेपछि पार्टी विधान बमोजिम एक वर्ष पर धकेलियो अर्थात २०७७ फागुनमा कांग्रेसले महाधिवेशन गर्ने निर्णय गर्‍यो। तर कोरोना महामारीका कारण वडा तहदेखिका अधिवेशन हुन नसकेपछि २०७७ फागुनमा पनि महाधिवेशन हुन सकेन ।

कांग्रेसले राजनीतिक दल सम्बन्धि प्रावधान रहेको संविधानको धारा २६९ को उपधारा ४ (ख) बमोजिम ६ महिना पर सारेर २०७७ भदौ पहिलो साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । पार्टीको विधानले चार र राजनीतिक दलसम्बन्धी ऐनले पाँच वर्षभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेकोमा त्यसभित्र पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थाको सहारा लिएको हो ।

संविधान अनुसार कांग्रेसलाई यही भदौभित्र महाधिवेशन सम्पन्न गर्नै पर्ने बाध्यता छ । तर यस अघि भदौ ७ देखि १० सम्म गर्ने भनिएको महाधिवेशन एक साता पर धकेलेर अब भदौ १६ देखि १९ सम्म सम्पन्न गरिने भएको छ । जेठ २९ मा कांग्रेस सभापति शेरबहादुर देउवा सहित बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने गरी केन्द्रीय कार्य समितिमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।

यसका लागि असार ३ मा केन्द्रीय कार्य समितिको बैठक बोलाइएको छ । उक्त बैठकले महाधिवेशन एक साता पर सार्ने निर्णय गर्नेछ ।

कोरोनाका कारण क्रियाशील सदस्यता वितरण कार्य प्रभावित हुनु,पार्टीका तल्ला तहका अधिवेशन हुन नसक्नु जस्ता कारण फेरि कांग्रेसले महाधिवेशन एकसाता पर सार्न लागेको हो ।

समस्याको जड क्रियाशिल सदस्यता

कांग्रेसको महाधिवेशन सर्दै जानुमा मुख्य विषय क्रियाशील सदस्यता नै हो । यसमा सभापति देउवा र उनी इतरका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच उब्जिने शंका उपशंका नै हो ।

क्रियाशील सदस्यता नवीकरण र वितरण पार्टीको केन्द्रीय नेतृत्व चयनमा महत्वपूर्ण हुने भएकाले यसमा सधै विवाद हुने गर्छ । कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता विवाद छानविन समितिका सदस्य श्याम घिमिरे अब महाधिवेशन समयमै हुनेमा शंका गर्नु पर्ने ठाउँ नरहेको बताउँछन् ।

घिमिरेका अनुसार, यसअघि कांग्रेसको ५ लाख क्रियाशील सदस्यता रहेकोमा १४ औं महाधिवेशनमा १० लाख पुर्‍याउने लक्ष्य छ । हालसम्म ८ लाख ३ सय क्रियाशील सदस्यताको अनलाइन डाटा पार्टी केन्द्रीय कार्यालयमा समावेश भइसकेको छ ।

यस्तै कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ अब पार्टीको बैधानिकता जोगाउन तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने बताउँछन् । गुरुङ भन्छन,“महामारीमा वैकल्पिक माध्यम अपनाएर महाधिवेशन गर्न सकिन्छ । भदौसम्ममा कोरोना पूर्ण हटिसक्ने अवस्था छैन । त्यसकारण वडा,गाउँ,नगर अधिवेशनमा धेरै मानिस जम्मा हुने अवस्थालाई धोरै मानिस जम्मा हुने गरि व्यवस्थापन गर्न सकिन्छ ।”

गुरुङका अनुसार,नेतृत्व चयनका लागि मतदानका बेला ५ सय जना एउटा वडामा भेला हुने अवस्था छ भने उनीहरुका लागि एउटा मतदान केन्द्रको सट्टा १० वटा बनाउन सकिने नेता गुरुङको भनाई छ । त्यसले कम भीड र भौतिक दुरी कायम गर्न पनि सकिन्छ । ५ सय जनाको लागि १० वटा मतदान केन्द्र बनाउँदा एउटा केन्द्रमा ५० जनाको दरले उपस्थित हुँदा सजिलो हुने गुरुङको धारणा छ ।

कांग्रेसमा फेरि पनि सभापति देउवाले विभिन्न बहाना देखाएर महाधिवेशन सार्ने हुन कि भन्ने आशंका भने मेटिएको छैन् । तर राजनीतिक दलसम्बन्धी ऐनले अब कांग्रेसले महाधिवेशन सार्न सक्ने अवस्था छैन ।

अब यसरी हुनेछ महाधिवेशन

गाउँ/नगर वडा अधिवेशन : २०७८ साउन ६

गाउँ/नगरपालिका अधिवेशन : साउन ११

प्रदेश सभा/क्षेत्रीय अधिवेशन : साउन १६

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : साउन २०

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : साउन २४ ।

प्रदेश अधिवेशन : भदौ १ र २ ।

भदौ १६ देखि १९ सम्म महाधिवेशन

यस्तो छ क्रियाशिल सदस्यताको बिवाद

क्रियाशील सदस्यता बिवाद छानविन समितिका सदस्य घिमिरेका अनुसार तराई–मधेशका सबैजसो जिल्लामा विवाद छ । पहाडी जिल्लामा भने त्यति धेरै समस्या छैन । समिति अब चाँडो भन्दा चाँडो विवाद समाधान गर्ने पक्षमा रहेको घिमिरेको दाबी छ ।

तोकिएको समयमा महाधिवेशन नभए के हुन्छ त ? कांग्रेस नेता गुरुङ भन्छन,“त्यसको परिकल्पना नै गरिएको छैन,पार्टी सभापति देउवाले जिल्ला सभापतिहरुलाई तत्काल काम गर भनेर निर्देशन दिएमा सबै काम तीन–चार दिनमै सकिन्छ र महाधिवेशन सहज रुपमा हुन्छ ।”
कांग्रेस नेतृत्व परम्परागत रुपमै धेरै मानिसहरु जम्मा गरेर महाधिवेशन गर्ने पक्षमा छ । तर कांग्रेसका युवा नेताहरुले गाउँ, नगर वा जिल्लामै मतपेटिका राखेर पनि प्रविधिको प्रयोग गरेर कोरोना महामारीकै बीच महाधिवेशन गर्न सकिने बताएका छन् । उनीहरुले पटक–पटक कार्यतालिका परिवर्तन गर्न जरुरी नरहेको पनि बताएका छन् ।

देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा आन्तरिक लोकततन्त्र भने मजबुत हुन सकेको छैन् ।

लेखकबाट थप

व्यवस्था फेरियो, अवस्था फेरिएन

त्यो कालो शुक्रवार : बिलियार्ड हलमा राजा वीरेन्द्रको वंशनाश

जसपाभित्रको दुई धार : पहिले छाँया अहिले घाम

एमालेमा ओली रणनीति : अप्ठ्यारोमा एकताको कुरा, सहज हुँदा कारबाही

एमाले विवादको फाइदा कांग्रेसलाई : कर्णाली प्रदेशबाट सत्तारोहण शुरु

महन्थलाई मुस्किल छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?