७६ (२) बमोजिम नयाँ सरकार गठनको समय आज सकिँदै : के गर्दैछन् कांग्रेस, माओवादी र जसपा ?

काठमाडौं । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन नसकेपछि नयाँ सरकार गठन गर्नुपर्ने भयो ।

ओलीले विश्वासको मत लिन नसेकपछि कांग्रेस माओवादीसहित जसपाको उपेन्द्र-बाबुराम पक्षले नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति समक्ष आग्रह गरेका थिए । त्यसै अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरु मिलेर सरकार गठन गर्न आह्वान गरिन् ।

वैशाख २७ गतेदेखि ३० गते (आज) सम्मका लागि दिइएको समयावधी आज सकिँदैछ । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया छलफलमै अड्किएको छ । कांग्रेससहित माओवादी र जनता समाजवादी पार्टी (जसपा) को सहकार्यबिना गठबन्धन सरकार गठन गर्न बहुमत नपुग्ने देखिन्छ । तर तटस्थ बसेको जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले गठबन्धन सरकारलाई सहयोग नगर्ने घोषणासँगै नयाँ सरकार निर्माण अन्यौलमा परेको हो।

राष्ट्रपति भण्डारीले सोमवार नै एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) बमोजिम संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा सरकार गठन गर्न आह्वान गरेकी थिइन् । आज राती ९ बजेसम्म संसदमा प्रतिनिधित्व गर्ने कम्तिमा १३६ सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीको नाम राष्ट्रपति समक्ष पुर्‍याउनुपर्नेछ । राष्ट्रपतिको आह्वान अनुसार नयाँ सरकार गठनमा कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लागेका छन् । तर जसपाको ठाकुर र महतो पक्ष सरकारमा सामेल नहुने भएपछि बहुमतको लागि संख्या नपुग्ने देखिन्छ ।

गत मंगलवार बसेको कांग्रेस पदाधिकारी बैठकले गठबन्धन सरकार गठनका लागि पहलकदमी लिनेबारे निर्णय गरेको छ । भने बुधवार नयाँ सरकार गठनका विषयमा छलफल गर्न जसपाको पदाधिकारी बैठक बसेपनि निष्कर्षविहिन टुंगिएको छ । पुनः आजका लागि बैठक बोलाइएपनि सहमती हुने सम्भावना न्यून छ ।

जसपाको ठाकुर र महतोको गठबन्धन सरकारमा सामेल नहुने चट्टानी अडान लिएका छन् ।जसको कारण गठबन्धन सरकार गठनका लागि बहुमत नपुग्ने र संविधानको धारा ७६ (३) बमोजिम ओलीलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गर्न राष्ट्रपतिलाई कानुनी बाटो खुला हुन्छ ।

त्यसो त यता प्रधानमन्त्री ओलीकै पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष भने ओलीलाई समर्थन नगर्ने पक्षमा देखिएका छन् । ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्नका लागि आफूहरु सामूहिक राजीनामा दिने पक्षमा समेत नेताहरु देखिएका छन् ।

सामूहिक राजीनामाका लागि छलफल चलिरहेको भन्ने हल्लाकाबीच नेपाल पक्षका नेताहरु भीम रावल र घनश्याम भुसालले ओली सामू नझुक्ने बरु राजीनामा दिने संकेत गरेका छन् ।

बुधवार सामाजिक सञ्जालमा लेख्दै नेता रावलले अलोकतान्त्रिक कार्यबाट ओलीलाई रोक्न आफूहरुले सामूहिक राजीनामा दिनुपर्ने बताए । त्यस्तै नेता भुसालले सामाजिक सञ्जालमा लेख्दै ओली सामू आत्मसमर्पण गरेर क्रान्तीप्रति गद्धारी नगर्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?