सन्तान हुनुको गर्वानुभूति

RSS
0
Shares

महोत्तरी । पिताको काख गुमेको पीडा छ, शोक छ, तर उमेरले ५० वर्ष कटेकी शैल साहलाई यसै पीडा र शोकभित्र सन्तान हुनुको गर्वानुभूति छ । बाबुआमाकी एक्ली सन्तान शैललाई अहिले पिताको निधनसँगै उनको अर्थी आफ्नो काँधमा उठाउने, चितामा दागबत्ती दिने र पारम्परिक मृत्यु संस्कारमा मुख्यकर्ता हुन पाएपछि सन्तान हुनुको गर्वानुभूति भएको हो । पिता सर्युग साहको अर्थी उठाएर दागबत्ती दिँदै मृत्यु कर्मको मुख्यकर्तामा आफू बसेको दुःखद् क्षणमा शैलले बल्ल आफूले सन्तान भएको महसुस गरेको बताइन् ।

“बाबु गुमाएकी छु, पीडामा छु, प्यारो काख गुमेको छ”, आइतबार धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिकामा पर्ने जलाद नदी तटको घाटमा स्वर्गीय पितालाई दागबत्ती दिएकी शैलले भनिन्, “यद्यपि बुबाको अरथी आफ्नै काँधमा उठाएर दागबत्ती दिँदा आपूm सन्तान भएको गर्व गरेँ ।” महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का स्थायी बासिन्दा ८५ वर्षीय पिता सर्युगको शनिबार राति निधन भएपछि एक्ली सन्तान शैलले आइतबार अरथी उठाउनदेखि दागबत्ती दिने र मुख्यकर्ता भई पिताको मृत्यु संस्कारमा सहभागी भएकी छिन् ।

यसअघि पितालाई उपचारका लागि जनकपुरदेखि काठमाडौँसम्म लिएर गएकी शैलले काठमाडौँबाट फर्कँदै गर्दा बाटोमै शनिबार राति निधन भएको क्षण अत्यन्त पीडादायी भएको बताइन् । “एक दशकअघि आमा फूलकुमारी साहको निधन हुँदा मैले यो अवसर पाइँन”, पिताको वियोगमा बलिन्द्र धारा आँसु काढ्दै शैलले भनिन्, “अहिले पिताको पालामा भने बल्ल सन्तान बन्न सकिछु ।” आमाको निधन हुँदा आफूले चाहे पनि त्यतिखेर समाजले त्यो अवसर नदिँदा कुँडिएको चित्तलाई अहिले बाबुको पालामा पाएको अवसरले मलमको काम गरेको शैलको भनाइ छ । शैलकी आमाको अरथी उठाउनदेखि दागबत्ती दिने र मृत्यु संस्कारको मुख्यकर्ताको भूमिका त्यतिखेर काकाका छोरा भाइले गरेका थिए ।

एक दशकअघिको सामाजिक रीतिथिति र विश्वासभन्दा समाज अघि बढेको शैलको ठम्याइ छ । “मैले आमालाई आफैँ दागबत्ती दिन्छु, मृत्यु संस्कार (क्रियापुत्री बस्नु)को कर्ता हुन्छु भनेँ” एक दशकअघिको घटना सम्झँदै शैलले भनिन्, “मेरो आफ्नै माइती ठाउँमा सारा पुकार व्यर्थ गयो ।” आइमाइले पनि अर्थी उठाउने, दागबत्ती दिने र कर्ता हुने कहीँ हुन्छ भनेर आफूलाई उल्लीबिल्ली पारेको शैलले सम्झना गरिन् ।

आमाको मृत्युपछि पितालाई आफ्नै घर (महेन्द्रनगर, धनुषा) ल्याएर स्याहारसम्भार गरेकी शैलले भनिन्, “छोरीलाई आर्थिक, सांस्कृतिक, सामाजिक र पारम्परिक कार्यको दायित्व नदिने समाजमा आमाको पालामा म नै उदाहरण थिएँ”, शैलले अगाडि भनिन्, “अब परिवेश र सामाजिक चिन्तनमा निकै फरक आएछ, ५० वर्ष उमेर कटेकी मलाई बल्ल सन्तान हुनुको महसुस अहिले भयो ।”

शैलले पिताको अरथी उठाउँदा विल्कुलै सामान्य अवस्था त थिएन । ‘हँ आइमाइले काहीँ अर्थी उठाउने र दागबत्ती दिन हुन्छ र ?’, यस्तो कानेखुशी गर्ने पनि थिए तर एक दशकअघि शैलकी आमाको निधन हुँदाको जस्तो त्यो स्वर बलियो रूपमा मुखरित भने हुन नसकेको उनका एक छिमेकी बताउँछन् । मधेशमा छोरीले अर्थी उठाउनेदेखि दागबत्ती दिने र मुख्यकर्ता भई माता/पिता वा अन्य परिवारजनको मृत्यु संस्कारमा सरिक भएका थोरै उदाहरणमा अब शैल थपिएकी छिन् । “छोरा सरह सबै कुरामा समान भागीदारी र दायित्वको कुरा स्थापित नै हुन त अझै केही समय लाग्ला”, शैलका पति लक्ष्मण साह भन्छन्, “तर जति समाजले अहिले पचाउँदै छ, एक दशकअघिको तुलनामा यो सामाजिक क्रान्ति नै हो ।”

शैलले पिताको मृत्यु संस्कारमा लिएको दायित्व महेन्द्रनगरमा अब सामान्यजस्तै भएको त्यहाँका बासिन्दा बताउँछन् । अब छोराछोरीबीच सांस्कृतिक, सामाजिक र पारम्परिक कार्यमा देखिने गरेको यसअघिको विभेद क्रमशः घट्दै जाने युवा पिँढीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?