यस्तो गाउँ जहाँ मन्दिरमा स्वस्थानी कथा वाचन हुन्छ, गाउँलेहरु भेला भएर सुन्छन्

काठमाडौं । साँझको ७ बजेको छ । गाउँका हरेक घरबाट फाट्टफुट्ट मान्छेहरु निँस्किदै नजिकैको मुक्तेश्वर महादेवको मन्दिरमा जम्मा भइरहेका छन् । कसैको हातमा गुन्द्री छ, कसैको हातमा काठको मुडा, कसैको हातमा दुधको कित्ली ,कोहि हातमा प्रशादका लागि स्याउ, सुन्तला त कोही अनेक नैवेद बोकेर गएका छन् । केटाकेटी र युवाहरु खाली हात छन् ।

केही समयपछि मन्दिरमा भीड बढ्छ । बढारेर चिटिक्क पारीएको मन्दिर आगनमा गुन्द्री ओछ्याइन्छ । मन्दिर भित्र राखिएको श्री स्वस्थानी व्रत कथाको पुस्तकहरु झिकीन्छ । स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने सुरसार गरिन्छ ।

श्री स्वस्थानी व्रत कथा शुरु हुनु अगाडि नै हरेक घरको श्री स्वस्थानी ब्रत कथाको पुस्तक मन्दिरमा राखिएको छ । सबै पुस्तक पढीयोस् भन्ने उदेश्यले दिन दिनै फरक फरक पुस्तक पढ्ने गरीन्छ मुक्तेश्वर मन्दिरमा । वाचन गर्ने व्यक्ती पनि दिन दिनै फरक फरक हुन्छन् ।

गाउँका तातेतुते गर्ने नानीबाबुदेखि ठिटाठिटी, अधबैंसे, वृद्धवृद्धा सबैजनाको उपस्थिति हुन्छ त्यहाँ ।

यो दृश्य तारकेश्वर नगरपालिकाको जितपुर गाउँमा अवस्थित मुक्तेश्वर महादेव मन्दिरको हो । यस गाउँमा एउटा नौलो रीत छ । माघ महिनाको १५ देखि फागुन १५ सम्म सामूहिक रुपमा स्वस्थानी वाचन गर्ने र सुन्ने गरीन्छ ।

धर्मकर्मकै धरातलमा टेकेर भएपनि एकछिन सारा गाउँ एउटै आँगनमा अटाउँछ । एकले अर्कोलाई चिन्ने मौका पाउँछन् । बुझ्ने मौका पाउँछन् । गफिने, एकाग्र हुने, व्रत कथा वाचन शुरु हुनु अघि मन्दिरमा आरति हुन्छ र आरति पश्चात् सबै जना मन्दिर छेउमै रहेको धारामा हात खुट्टा धोएर गुन्द्री, बेन्चमा मा मिलेर बस्छन् ।

सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।
नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् ।
खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।।
चतुर्भुजां च मां वापि पूजयेत् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।

अर्थात : सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरुले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड् ,चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी,यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु । भन्दै ईश्वर घिमिरे (स्थानीय) कथा वाचन शुरु गर्छन् ।

सबै भक्तजनहरु एकाग्र भएर कथा सुन्छन् । छेउमा अखण्ड धुनी बालिएको छ । धुनीको रापले वातावरण हल्का उज्यालो बनाइदिएको छ । र, न्यानो पनि ।

अखण्ड धुनी :


श्री स्वस्थानी व्रत कथादेखि जल्न शुरु गरेको अखण्ड धुनी महाशिवरात्री सम्म निरन्तर बलिरहन्छ । यस मन्दीरमा श्री स्वस्थानी व्रत कथामा मात्र नभई शिवरात्रि, कृष्णाअष्टमी, साउनको हरेक सोमबार, तीजलगायत चाडमा भक्तजनको घुइँचो लाग्ने गर्छ । ठूला काठका मुडालाई सानो खाडल बनाएर त्यस माथी अखण्ड धुनी जिवीत छ, मुक्तेश्वर मन्दिरमा ।

७६ वर्षिया यद कुमार घिमिरे भन्छन् ‘समय साँच्चै बदलिसक्यो, पहिले जस्तो समय अहिले रहेन, सबै रोजगारका लागि कता कता जान्छन बेलुका आ(आफ्ना घर आउँछन् । तर अहिले व्रत कथा सुन्नका लागि भनेर सबै गाँउले एकै ठाँउमा भेला हुन्छन् पुरानै दिनमा जसरी, निकै खुसी लागेको छ’ , आफ्नो उमेरको कुरा सम्झदै यद कुमार बताउँछन् ।

आगोको छेउमै कित्लीमा चिया उम्ली रहेको हुन्छ ।

कथा सकिएपछि केहि नैवेद र प्रशादका रुपमा चिया दिईने चलन छ । कथा सकिएपछि सबैजना प्रशाद ग्रहण गर्छन र एकछिन आगो तापेर घरतिर लाग्छन् ।

यो पनि पढ्नुहोस् :

यस्तो मन्दिर जहाँ भिसा पाउन पासपोर्ट छुवाईन्छ, हवाइजहाज चढाईन्छ

बाईक नाचेको नाच्यै, झन्डै मरिएन ! यात्रा अनुभूति (भिडियोसहित)

मन्त्रमुग्ध पार्ने घान्द्रुक गाउँ : रिफ्रेस हुन जानैपर्ने ठाउँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?