हिमालय एयरलाइन्स परीक्षण उडानको लागि ल्हासा तर्फ प्रस्थान

काठमाडौं । नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित हिमालय एअरलाइन्सले, जनवरी १९, २०२१ मा आफ्नो पहिलो उच्च उचाई गन्तव्य–ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको छ ।

ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो, जसले संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको छ ।

मंगलवार (आज) को परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकावद्ध उडानहरू शुरू गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको जनाइएको छ ।

परीक्षण उडान H9 961 त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बिहान ७ः१७ बजे (स्थानीय समय) मा ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०ः४६ बजे (स्थानीय समय)मा अवतरित भएको छ । ल्हासाबाट फिर्ती उडान H9 962 आजै अपरान्ह १५ः०० बजे (स्थानीय समय)मा गर्ने र काठमाडौंमा अपरान्ह १४ः०० बजे (स्थानीय समय)मा अवतरीत हुने अपेक्षा गरिएको छ ।

एअरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले, वरिष्ठ क्याप्टेनहरु सहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् र चालक दलले ल्हासा स्थित गोंगर अन्तर्राष्ट्रिय विमान स्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउने छन् ।

परीक्षण उडानका लागि एअरलाइन्स्ले सन् २०२० को मार्च महिना मै विशेषतः उच्च उचाईका लागि उडान भर्न H9 AJK नाममा दर्ता भएको नवीनतम न्यारोबडी हवाइ जहाज A319-115 प्रयोगमा ल्याएको छ । १२० इकोनोमि र ०८ विजिनेस क्लास सिटको व्यवस्था भएको एअरक्राफ्ट उच्च उचाईको उडान भर्नको लागि परिमार्जित छ र अधिकतम १४,५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको छ ।

हिमालय एअरलाइन्सको अध्यक्ष श्री झोउ एन्योङ्गले भने, “हिमालय टोली गत बर्षदेखि नै ल्हासा जस्तोे उच्च उचाईको गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत थियो । आजको सफल परीक्षण उडानले ( सुरक्षा, टीम भावना र विजयी भावनाको हाम्रो प्रमुख मार्ग निर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको छ । आजको प्रमाणीकरण उडानको सफल संचालनका लागि हाम्रो टोलीलाई म हृदयदेखि नै बधाई दिन चाहन्छु र हाम्रा दुबै मुलुकका नागरिक उड्डयन प्राधिकरणको सहयोग प्राप्त भाएकोमा हामी वहाँहरु प्रति कृतज्ञ छौं । यस कार्यले हामीलाई हाम्रो अभियान सहजै अगाडि बढाउन सक्षम बनाएको छ ।”

सो समारोहमा एअरलाइन्स्का प्रशासकीय उपाध्यक्ष विजय श्रेष्ठले भने, “ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो र एकमात्र विदेशी एअरलाइन्स हुन पाउनु हिमालयका लागि वास्तवमै गर्वको बिषय हो । यसका साथ साथै यस उडानले उच्च उचाइका हवाइ उडानका लागि नागरिक उड्डयन प्राधिकरणले निर्दिष्ट गरेको मापदण्ड र आवश्यकताहरूको पालनाको सुनिश्चित्ता गर्नेछ । यसरी सीमापार सम्बन्ध सुदृढ पार्ने अवसर पाउँदा हामी सम्मानित भएको अनुभूति गर्दछौ । साथै हामी विश्वस्त पनि छौं, कोरोेना महामारी पछि, यस उडानले नेपाल र तिब्बतबीचको पर्यटक संख्यामा उल्लेखनीय बृद्धि गर्नेछ ।”

परीक्षण उडान ३,५७० मीटरको उचाइ अर्थात् ११,७११ फिट बराबरको उचाइमा रहेको ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा परम्परागत एप्रोचेजका साथै RNP-AR एप्रोचेजका प्रमाणीकरणका लागि योजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?