अब कसरी अघि जाने ? विप्लव समूहले भन्यो – ‘अध्ययन गर्दैछौँ’

काठमाडौं – देशमा पछिल्लो दुई सातायता निकै जटिल परिस्थिती हाम्रा सामू छ । स्थिर सरकार बनेकोमा थोरै भएपनि ढुक्क भएका /खुसी भएका नागरिकको आशामा तुषारापात भएको छ ।

पद र पावरका निम्ति भएका फोहोरी खेलहरु बाहिरै देखिन थालेका छन् ।

केन्द्रमा विभाजित भएको राजनीतिको असर प्रदेश हुँदै स्थानीय तहसम्मै देखिन थालेको छ । त्यसैमाथि हिंसात्मक बाटो समातेको नेकपा विप्लव समूहले बेलाबेलामा गरेका विभत्स हत्याका घटनाहरु पनि आइरहेका छन् ।

केहि दिनअघि सो समूहले निहत्था शिक्षक हत्या गरी सुराकी लगाएकोले हत्या गरेको भन्दै विज्ञप्ति निकाल्यो ।

ग्रामीण भेगमा र विशेषगरी सुरक्षा निकाय पुग्न कठिन हुने स्थानमा उसले विभिन्न गतिवीधि अघि बढाइरहेको छ । यसतर्फ राज्य संयन्त्रले गम्भिर भएको भन्नबाहेक अन्य केहि गर्न सकेको छैन । त्यसैमाथि हिजो साँझ एउटा प्रेस विज्ञप्ति निकालेर नेकपा विप्लव समूहले अब कसरी अघि बढ्ने भन्ने बारेमा आफ्नो भनाई समेत प्रष्ट पारेको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘देशको वर्तमान संवेदनशिल अवस्थाको गहन विश्लेषण र नयाँ नीति तर्जुमा गर्नेबारे अध्ययन भइरहेको छ ।’

सुरक्षा निकायप्रति कुनैपनि आक्रमणको नीति नभएको पनि उसले बताएको छ ।  मूलधारको राजनीतिमा बेईमानी चुलिन थालेपछि धेरैले विप्लव अब आक्रामक शैलीमा आउन सक्छन् भनेर आँकलन समेत गरेको अवस्थामा उनको विज्ञप्तिमा यो कुरा प्रष्ट्याइएको हो । तर सो समूहले संखुवासभामा दोहोरो भिडन्तको घटनाको स्पष्टिकरण दिँदै परिस्थितीलाई उक्साउने, उत्तेजित बनाउने, दमन गर्ने नीति राज्यले कायम राखेमा सशक्त प्रतिरोध गर्ने विषयमा समेत प्रष्ट्याएको छ ।

हिजो भएको के थियो ? 
नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच संखुवासभामा दोहोरो भिडन्त भएको थियो । जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर – ४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर गरेका कारण प्रहरीले जवाफी फायरिङ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लका अनुसार विप्लव समुहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएका छन् । प्रहरीले करिब २० राउण्ड फायर गरेको छ । यस अघि ०७७ मंसिर १ मा पनि चैनपुरस्थित मैदानेमा विप्लव समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए । ०७६ असार १६ मा पनि संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ मा पनि प्रहरीमाथि आक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?