युग लिएर अस्ताएका ‘गाडी बोक्ने बुढा’ सँगको त्यो पल…

  • रामजी बलामी

आज (बुधवार) बिहान चियाको चुस्की लिँदै फेसबुक स्क्रोल गर्दै थिएँ । चिसो मौसममा तातिएको राजनैतिक माहोलसँगै अनेकन टिका टिप्पणीहरु फेसबुकभरी छरपस्ट थिए । कोही विपक्षीको खोइरो खन्दै थिए भने कोही आफ्ना नेताको बचाउमा उत्रिएका थिए । कोही भने मंगलवार मात्रै नेपाल कम्यु्निष्ट पार्टी नेकपाको अध्यक्ष चुनिएका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय समितिमा बढुवा गरेका नेताहरुलाई बधाइ तथा शुभकामना आदानप्रदान गरिरहेका थिए ।

‘स्पिड’मा अघि बढेको ‘फेसबुक स्क्रोल’ मकवानपुरको थाहा नगरपालिका वडा नं. ५ का वडा सदस्य चमेली वाइबाको स्टाटसमा पुगेर ज्याप्प ‘ब्रेक’ लाग्यो । वाइबाले तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोक्ने मध्येका एक्ला जिवित साक्षी हिराबहादुर घलानको दुःखद खबर शेयर गर्नुभएको थियो । करिव एक वर्षदेखि प्यारालाइसिसले थलिनुभएका घलानको गएराति दुःखद निधन भएको रहेछ ।

रिपोर्टिङका क्रममा मैले गाडी बोक्ने तीन जना व्यक्तिको जीवनशैली बुझ्ने अवसर पाएँ । घलानको दावी र मेरो जानकारीमा आए अनुसार मकवानपुरको भिमफेदीदेखि चन्द्रागिरी हुँदै थानकोटसम्म गाडी बोकेर भित्र्याउने उनी नै अन्तिम व्यक्ति हुन् । यस अघि सोही ठाउँ (तसर) का जुक्तबहादुर वाइबाको ९२ वर्षको उमेरमा निधन भएको थियो । १६ वर्षको उमेरदेखि गाडी बोक्न थाल्नु भएका वाइबाले ७० वटा गाडी बोकेको पंक्तिकारलाई बताउनु भएको थियो ।

पाँच वर्षअघि गाडी बोक्ने मध्येका एक चित्लाङ भण्डारखर्कका धनबहादुर गोलेलाई भेटेको थिएँ । वि.सं. २००५ देखि २०१३ सम्म ३० वटा गाडी बोक्नु भएका गोलेको ९२ वर्षको उमेरमा वि.सं. २०७२ पुष २८ गते निधन भएको थियो ।

तीनै जना बयोवृद्ध ‘गाडी बोक्ने बुढा’ हरुको शरीर कमजोर भएपनि जोश, जाँगर र हिम्मत अनौठो खालको थियो । अहिलेका पुस्ताको लागि एउटा पुस्तकालय बराबर ।

एक युगको अन्त्य

घलानको मृत्यु एक व्यक्तिको निधन मात्रै होइन एक युगको अन्त्य हो । उनको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सिमित भएको छ । विगत एक वर्षदेखि पक्षघातबाट पीडित ८९ वर्षीय घलानलाई जिउँदो इतिहास मानिन्छ ।

इतिहास पढ्न र सुन्न पाईन्छ तर आफू नै इतिहासको साक्षी बनेको सुन्न पाउने व्यक्ति थोरै मात्रै हुन्छन् । तिनै थोरै भाग्यमानी मध्येका व्यक्ति हुनुहुन्थ्यो, घलान ।

नेपाली इतिहासमा एउटा सिंगो कालखण्डको प्रतिनिधित्व गरिरहेका घलानको निधनले परिवार, आफन्त र समाजलाई मात्रै होइन सिंगो मुलुकलाई नै अपुरणीय क्षति पुगेको छ ।

अहिले केन्द्रिय राजधानी काठमाडौंमा दैनिक १० लाख भन्दा बढी सवारीसाधन गुड्छन् । जसले गर्दा यहाँको ट्राफिक व्यवस्थापन निकै अस्तब्यस्त बनेको छ । तर, काठमाडौंमा कुनै बेला शासकहरुले मात्रै सवारीसाधन चढ्दथे । राणा शासकहरुका लागि आवश्यक सवारीसाधन मकवानपुरको भिमफेदीदेखि बोकेर काठमाडौंको थानकोटसम्म ल्याईन्थ्यो ।

शासकहरुका लागि गाडी बोकेर काँध खियाउने भरीयाहरुमध्येका एक घलान सो वडाकै सवैभन्दा ज्येष्ठ नागरिक पनि हुनुहुन्थ्यो । घलान नै गाडी बोक्ने पहिलो पुस्ता भने होईनन् । उहाँका बुबाले पनि गाडी बोक्थे । आफ्नो बुबाले गाडी बोकेको थाहा पाएर आफूमा गाडी बोक्ने जाँगर पलाएको घलानले भेटमा बताएका थिए । “हाम्रा बा पनि गाडी बोक्ने रहेछ त्यसैले हामी पनि बोक्ने भनेर सल्लाह गरेर गएको हुँ ।” उहाँले भन्नु भएको थियो ।

एउटा सिंगो इतिहासका साक्षी घलानको जन्म मकवानपुरको दुर्गम गाउँमा भएको हो । काठमाडौंबाट फर्पिङ, कुलेखानी हुँदै करिव ३ घण्टा (मोटरसाइकल) को यात्रापछि घलानको गाउँ तसर (पुरण्डी) पुग्न सकिन्छ । सवारीसाधन रोकेर करिव ५ मिनेटको उकालो पैदल यात्रापछि घलानको घर आईपुग्छ ।

गाडी बोक्नु अघि नै गाडीमा यात्रा

जीवनमा घलानले ‘गाडी बोक्ने बुढा’को उपनाम पाउनु भयो तर उहाँले गाडी बोक्न थाल्नुअघि नै गाडीको यात्रा गर्न पाउनु भयो  । घरायसी व्यवहार चलाउन घलान १३ बर्षकै उमेरमा मधेस झर्नु भएका उहाँ सोही शिलशिलामा पहिलो पटक मोटर चढ्नु भएको हो ।

“म सानैमा मोटर चढेर वीरगञ्ज गएको हुँ, त्यहाँबाट फर्केर गाउँ आएपछि मात्रै मोटर बोक्न थालेको ।” उहाँले आफ्नो  विगत यसरी स्मरण गर्नु भएको थियो । कामकै शिलशिलामा दिल्ली, बम्बईदेखि कलकत्तासम्म पुगेर पाखुरा खियाएका घलानले भन्नु भएको थियो, “मोटर धेरै पटक चढियो त्यसैले मोटर बोक्दा खासै नौलो लागेन ।”

काँधमा गाडी बोक्दाका अविस्मरणीय पलहरु

घलानले वि.सं. २००६ सालदेखि गाडी बोक्न थाल्नु भएको हो । उहाँले आफू १८ बर्ष हुँदादेखि त्रिभुवन राजपथ नबनेसम्म साना ठूला गरी २५ वटा गाडी बोक्नु भयो  । अहिले हेटौँडा, कुलेखानी हुँदै काठमाडौ पुग्न करिव ३ घण्टा लाग्छ त्यतिवेला गाडी बोकेर ल्याउँदा कति समय लाग्ला ? “हलुका गाडी १२ दिनमा पनि पु¥याईन्थ्यो, गह्रौ गाडी भने २५ दिनसम्म पनि लाग्थ्यो ।” घलानले यसरी अतित स्मरण गर्नु भएको थियो ।

घलानले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रै बोक्न पाए भने ६४ जनाले बोक्ने गाडी १० खेप जत्ति बोक्न पाए । बाँकी साना गाडीहरु बोकेका थिए । घलानलाई मेरो जिज्ञासा थियो, “एउटा सिंगो गाडीलाई कसरी बोक्ने त ?” जिज्ञासा भुँइमा भर्न नपाउँदै घलानले फ्ल्यासब्याकमा पुगेर भने, “सबैभन्दा पहिले गाडीको चक्का र बम्परहरु निकालिन्छ । त्यसपछि गाडीको चक्का बस्ने ठाउँमा दुईतिर ठूल्ठूला पोल जस्ता नोलहरु राखिन्छ । त्यसमा साना नोलहरु राखेर बाबियोको डोरीले कसिन्छ । नोल र गाडी एक ढिक्का हुने गरी बाँडेपछि अगाडि र पछाडि बराबर संख्यामा भरियाहरु बस्छन् । अनि एकसाथ बल गरेर होस्टे हैंसे गर्दै बोकिन्छ । ”

गाडी बोक्ने काम भरियाहरुको हुन्थ्यो भने त्यसको व्यवस्थापनका लागि नाइके र महानाइके भनेर तोकिएको हुन्थ्यो । उनीहरुले नै भरिया छनौट गर्नेदेखि अन्य व्यवस्थापनका कामहरु गर्ने गर्दथे । हलुका गाडी प¥यो भने उनीहरुले एकैदिनमा कुलेखानीसम्म पनि ल्याई पु¥याउँथे । गाडी बोक्न भिमफेदी, सानो फाखेल, ठूलो फाखेल, तोक्मार, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ देखिका स्थानीय भरिया जाने गर्दथे । घलानको गाउँबाट मात्रै गाडी बोक्न ४८ जनाको समूह भेला हुन्थे ।

परालको जुत्ता र ढिँडोको भर, ज्याला ९ रुपैंयाको दर

चन्द्रागिरीमा अहिले केवलकार बनेको छ । सवारीसाधनबाट पनि मज्जाले यात्रा गर्न सकिन्छ । चन्द्रागिरी सडक अहिले स्तरोन्नती भइरहेको छ । तर, त्यतिबेला मोटर बाटो समेत नभएको अवस्थामा कसरी ल्याइन्थ्यो त गाडी ? “त्यही गोरेटो बाटो अनि जंगलको झार पन्छाउँदै बोकिन्थ्यो नि ।” घलानले भन्नु भयो ।

गाडी बोकेर चन्द्रागिरी चढ्ने मान्छेहरुले के खान्छन् त ? “के खानु जाँड, रक्सी, मासु, ढिँडो, रोटी यस्तै यस्तै ।” घलानले यसरी सम्झिनु भएको थियो । त्यसबेला ५ पैसाको मासु र ४ पैसाको फापरको रोटीले अघाउञ्जेल खान पुग्थ्यो । गाडी बोक्न जाने कतिपयले भने घरबाटै मकै, कोदो र फापरको पिठो लिएर जान्थे । यसरी लिएर गएको पिठो बास बस्ने ठाउँमा ढिडो बनाएर खाने गरेको घलानको अनुभव छ । गाडी मार्खु, कुलेखानी र चित्लाङ पुगेर रोकेको दिन उनीहरु घरमै बास बस्न आउथे, अरु दिन भने उनीहरुको बास गाडी रोकिएकै ठाउँका स्थानीय होटल र घरहरुमा हुन्थ्यो ।

त्यतिबेला अहिले जस्तो जुत्ता थिएन । के यसो भए खाली खुट्टै गाडी बोक्थे त ? होईन, उनीहरु परालको जुत्ता लगाउँथे । गाउँभरीमा परालको जुत्ता बनाउने जिम्मा पनि घलानकै हुन्थ्यो । त्यसो त हरेकले घरबाट परालको मूठो बोकेर जान्थे । गाडी बोकेर ओकालो ओरालो गर्दा परालको जुत्ता कति दिन टिक्ला ? “बल्लतल्ल एक दिन टिक्छ ।” घलानको जवाफ थियो ।

यसरी काँध खिइनेगरी गाडी बोकेवापत उहाँले  ९ रुपैंया पाउनु हुन्थ्यो । त्यो पैसाले के गर्नु हुन्थ्यो  त उहाँले ? घलानको संक्षिप्त जवाफ थियो, “के गर्नु खाने कुरा किन्ने ।”

गाडी बोक्ने चलन कसरी शुरु भयो ?

काँधमा गाडी बोक्नेहरु मध्ये घलान दोश्रो पुस्ताका भरिया हुनुहुन्थ्यो । काठमाडौमा गाडी लैजाने कुरा कसरी शुरु भयो त ? यस बारेमा घलानले आफूले  भनेको/सुनेको कुरा भन्दै एउटा कहानी सुनाउनु भएको थियो  । उहाँका अनुसार त्यसबखत काठमाडौंको नेवार समुदायका कुल बहादुर नाम गरेका एक व्यक्ति गाडी कम्पनीका काम गर्दथे । पछि उनी गाडी चालक पनि भए ।

उनै कुल बहादुरले दरबारमा गई काठमाडौमा गाडी भित्र्याउन पाए शासकहरुलाई सुविधा हुने कुरा सुनाए । उनको कुरा सुनेर चकित भएका शासकहरुले गाडी भित्र्याउने जिम्मा उनैलाई दिए । उनले नै अमलेखगञ्जदेखि भिमफेदीसम्म गाडी चलाएर ल्याउँथे । भिमफेदीमा नाइकेलाई गाडी जिम्मा लगाएर उनी काठमाडौं जान्थे । गाडी थानकोट आईपुगेको खबर पाएपछि उनै कुलबहादुरले चलाएर गाडीलाई दरवारसम्म पु¥याउँथे ।

१५ बर्षमा विवाह, १४ सन्तती

घलानको विवाह १५ बर्षको उमेरमा गाउँकै ठूलीमाया घलानसँग भयो । हिरा बहादुर भन्दा १७ दिनले जेठी छिन्, ठूलीमाया । हिरा बहादुरसँग जीवनको अतितहरु खोतलिरहँदा ठूलीमाया सँगै बसेर हाँसीरहेकी थिइन् । विवाहको प्रसँग निस्कनासाथ यी दम्पत्तीको चाउरिएको चेहरामा एकाएक चमक छायो ।

दम रोगले पीडित ठूलीमायाको आँखा र कान कमजोर छ । तर, उहाँ हरेक प्रश्नमा हाँस्न रुचाउँनु हुन्छ । दुवै जना गाउँकै भएकाले उहाँहरुबीच दिनहुँजसो भेटघाट हुन्थ्यो । यसैक्रममा उनीहरुले एकअर्कालाई मन पराए र मागी विवाह गर्नु भयो । वैवाहिक जीवन कथा सुनाउँदै उहाँले भन्नु भएको थियो, “बुढाको बुढी, बुढीको बुढा सँगै बस्ने त हो नि ।” हिराबहादुरको कुरा सकिन नपाउँदै ठूलीमायाले थपिन्, “एक बार मर्नैपर्छ, निधारमा के लेखेको छ, मेट्न सक्दैन ।” हो, निधारमा लेखेको मेट्न नसकिने रहेछ, उहाँकी धर्मपत्नीले भने झैं घलान एउटा युग लिएर बिदा भए।

अहिले उहाँहरुका २ छोरा र ३ छोरीसहित १४ जना सन्तती छन् । घलान दम्पत्ती लेखपढ गर्न जान्नु हुन् तर उहाँले छोराहरुलाई भने पढाउनु भएको छ ।

जीवनको युवावस्थामा गाडी बोके पनि पछि उहाँ गाडी चढेर तातोपानीदेखि भारतको दिल्लीसम्म पुग्नु भयो । ८७ बर्ष संघर्षमा होमिनु भएका घलानलाई मान्छेको जीवन के जस्तो लाग्दो रहेछ त ? “धर्म कर्म गर्ने, पाप नगर्ने, झगडा नगर्ने ।” घलानले संक्षिप्त जवाफमै जीवनको सम्पूर्ण परिभाषा दिएका थिए । ‘मर्छु की’ भनेर चिन्तित घलानले आफ्नो सन्ततीका लागि भने बाँच्ने आश गरेका थिए ।

पछिल्लो केही समययता घलानलाई खोज्दै भेट्न जानेहरुको संख्या बढेको थियो । नयाँ नयाँ मान्छेहरु आफूलाई खोज्दै आएको देख्दा अचम्मित हुनुहुन्थ्यो उनी । विगतमा जे जस्ता दुःख कष्ट गरे पनि अहिले नयाँ मान्छेहरु भेट्न आउँदा घलानलाई ठूलै काम गरे जस्तो लाग्छ रे । छुट्टिने बेला घलानले भनेका थिए, “बाबु ! मेरो कुरा सबैतिर पुर्‍याईदिनू है ।”

एउटा सिंगो युग लिएर बिदा भएका घलानप्रति हार्दिक श्रद्धाञ्जली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?