अध्यादेशबारे जनार्दन शर्माको आक्रोश : सत्ता स्वार्थको परकाष्ठा !

काठमाडौं । सरकारले मंगलवार (आज) ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सत्तारुढ दलकै सांसदले आलोचना गरेका छन् ।

पूर्वमन्त्री एवम् सांसद जनार्दन शर्माले सरकारले ल्याएको अध्यादेशबारे सामाजिक सञ्जालमा लेख्दै सत्ता स्वार्थको पराकाष्ठा किन ? भन्दै प्रश्न गरेका छन् ।

हठात रुपमा अध्यादेश ल्याइएको भन्दै छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन नसक्ने नेता शर्माले बताएका छन् ।

साथै उनले हठात मनस्थितीबाट मुक्त हुन सरकारलाई आग्रह गर्दै उक्त अध्यादेश फिर्ता लिन समेत माग गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा तत्कालै राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् ।

उनले भने, “फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका थिए । आइतवारको बैठकमा गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरिएको बैठक आजका लागि बोलाइएको थियो । भने आजको बैठकमा पनि गणपूरक संख्या नपुगेपछि बैठक साँझ ५ बजेका लागि बोलाइएको छ । संवैधानिक परिषद्को बैठकपछि तत्काल मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री ओलीले बहुमत सदस्यका आधारमा संवैधानिक परिषद्को बैठक बस्न पाउने गरी अध्यादेश ल्याएका थिए । भने त्यसलाई तत्कालै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् ।

यसअघि पनि प्रधानमन्त्री ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यसको व्यापक आलोचनापश्चात सरकारले दुवै अध्यादेश फिर्ता लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?