काठमाडौं – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा टिप्पणी गर्दै जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा एक ट्वीट गर्दै उनले लेखेका छन् – ‘सरकारको के हो चाला ? पौडेलकै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक ? ‘दालमा कालो देखियो है !‘
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई त्यहाँ भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस् ’, पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्न जाने क्रममा पौडेललाई प्रहरीले पक्राउ गरेको हो । पुल उद्घाटनमा नेता पौडेल जाने भएपछि नेकपा तनहुँ र राष्ट्रिय युवा संघ नेपालले विरोध गरेको थियो । पुल उद्घाटन विवादमा परेसँगै प्रशासनले पुल उद्घाटनलाई रोक्न आग्रह गर्दै निषेधाज्ञा समेत जारी गरेको छ । युवा संघले विरोधका कार्यक्रमहरु तय गरेसँगै त्यसबाट हुने झडप रोक्न प्रशासनले बुधवार बिहान १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया